पर्वत, २०७६ बैशाख १६ । साना साना उद्यम मार्फत आयआर्जनमा जुटेका पर्वतको पैयु गाउँपालिकाका युवा महिलाहरुका लागि ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा पैयु गाउँपालिका वडा नं. ३, ६ र ७ का २० जना उद्यमी किशोरीहरुको सहभागिता रहेको थियो ।
कुखुरापालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल भई उद्यमशिल बनेका किशोरीहरुलाई सहकारीमा आवद्ध गराई संस्थागत रुपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
समुहमा आवद्ध भएर कुखुरापालन, तरकारी खेती गरेर आयआर्जन गरी वचत गर्ने, गाउँ टोल सरसफाई लगायतका सामाजिक कार्यमा क्रियाशिल रहेको तालिमका सहभागीहरुले बताएका छन् ।
तालिम समापनका अवसरमा बोल्दै पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले ग्रामिण क्षेत्रमा उद्यम गर्ने किशोरीहरुलाई आयआर्जन र वचतमा केन्द्रीत गर्न तालिम सहयोगी हुने बताए । सहकारी संस्थालाई प्रभावकारी बनाउनका लागि लेखाको महत्वपूर्ण भूमिका हुने भएकाले तालिमबाट सिकेको ज्ञान व्यवहारमा कार्यान्वयन गर्न उहाँले आग्रह गरेका थिए ।
तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागि उद्यमशिलता सम्बन्धमा सचेतना आवश्यक रहेको बताए ।
तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको इन्प्रेड नेपाल पर्वतका सामाजिक परिचालक तुलसी सुनारले जानकारी दिएका थिए ।