पर्वत २०७६ बैशाख १९ । महाशिला गाउँपालिका-५ स्थित वडा कार्यालयमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । उच्च अदालत अन्तर्गत पोखरा, वाग्लुङ ईजलाशका मुख्य न्यायाधीस शेषराज सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि.पौडेल, पर्वत जिल्ला अदालतका न्यायाधीस सूर्य बहादुर थापा, म्याग्दी जिल्ला अदालतका न्यायधीस राज कुमार कोईराला, जिल्ला बार ईकाई अध्यक्ष भोलानाथ शर्मा, विभिन्न कानुन क्षेत्रमा कार्यरत कानुनविदहरु, महाशिला गाउँपालिकाका वडा अध्यक्षहरु, सदस्यहरु तथा स्थानियबासीको उपस्थिती रहेको थियाे ।
कार्यक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समाजमा शान्ति सुरक्षाको लागि स्थानीय तह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनको लागि प्रहरी र स्थानीयबीचको सम्वन्ध जरुरी रहेको बताए थिए ।
सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आधारभुत सुरक्षा, सामुदाय-प्रहरी साझेदारीको महत्व, घरेलु हिंसा नियन्त्रण, साईवर सुरक्षा तथा लागूऔषध नियन्त्रण लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलको अध्यक्षतामा अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।
यसैवीच म्याग्दीमा समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै प्रहरीसंग एक दिन कार्यक्रमको अवधारणा बमोजिम सदरमुकाम बेनी स्थित रहेको न्यू वेष्ट प्वाईन्ट आवासीय माध्यामिक बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु गरी ३१ जनालाई यस कार्यालयको भ्रमण गराई कार्यालय प्रमुख प्र.ना.उ. महेन्द्र प्रसाद मरासिनीसंग भेटघाट,कार्यक्रमको औचित्यताको बारेमा अन्तरक्रिया,शाखाहरुको परिचय र सेवा-प्रबाहको बारेमा जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।