गल्कोट २०७६ बैशाख २३ । गल्कोट नगरपालिका ६ साविक हरिचौर गाविस कौलेनी स्थित एक प्राथमिक विद्यालयका विद्यार्थीहरु धमाधम अन्य विद्यालयहरुमा भर्ना हुन गएपछी पछिल्लो अवस्थामा विद्यालयमा जम्मा ५ जना मात्र विद्यार्थीहरुले पठन पाठन गरिरहेका छन् । विद्यालयको व्यवस्थापन, विद्यार्थीहरुको पठन पाठन, विद्यालयको भौतिक एवं शैक्षिक वातावरणमा सरोकारवालाहरु समुचित ध्यान नपुग्दा अभिभावकहरुले आफना बालबच्चालाई अन्यत्र पढाउन लानु पर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
केहि दिन पहिले सम्म हरिचौर कौलेनी स्थित नवयुग प्राथमिक विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत थिए । तर अहिले जम्मा ५ जना मात्र रहेका छन् । कसरी विद्यार्थीहरुलाई आकर्षित गर्ने भन्ने सकारात्मक सोँच तिर बिचारै नगरी गत शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खत्रीको अध्यक्षता बसेको बैठकले विद्यालयबाट आफ्ना बालबालिकालाई अन्य विद्यालयहरुमा भर्ना गर्न लैजाने अभिभावकहरुलाई गल्कोट नगरपालिकाबाट प्राप्त हुन सिफारिस लगायत अन्य सुविधाहरुबाट बन्चित गर्न नगरपालिकालाई अनुरोध गर्ने प्रस्ताव पारीत गरेको समाचारले गल्कोट नगरपालिका क्षेत्रमा निकै चर्चा पाएको छ । आफ्ना बालबालिकाहरुलाई जुन विद्यालयमा राम्रो पढाई छ त्यहाँ भर्ना गर्न पाउनु पर्छ, अर्को विद्यालयमा भर्ना गरेको भनेर नगरपालिकाकाट सिफारिस लगायतका सुविधा कटोती गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिलाई कस्ले दियो ? भनेर अभिभावकहरुले आक्रोश व्यक्त गरिरहेका छन् ।
हाल कक्षा कक्षा ५ सम्म पठनपाठन हुने नवयुग प्राथमिक विद्यालयको प्रधानाध्यापकका रामबहादुर खत्री र अन्य दुई शिक्षिकाहरुमा कोपिला खत्री र जानकी खत्री कार्यरत रहेका छन् । विद्यालयको खस्किदो अवस्थालाई मध्यनजर गरी यसलाई अन्य विद्यालयमा मर्ज गर्नुपर्ने स्थानीय अभिभावकहरुको माग रहेको छ ।