Sorry, that menu does not exist.
 

धौलागिरि अञ्चल बस व्यवसायीका लामो दुरीका सवारी साधनमा प्राथमिक उपचारको ब्यवस्था !

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख २५ । बागलुङबाट लामो दुरीका लागि छुट्ने सवारीसाधनमा यात्रा गर्नेलाई प्राथमिक उपचारमा प्रयोग हुने औषधीबाट सेवा दिइने भएको छ । धौलागिरि अञ्चल बस व्यवसायी समिति बागलुङले यात्रुलाई स्वास्थ्य सम्बन्धि सचेतना प्रदान गर्नका लागि सवारी साधन भित्रै प्राथमिक स्वास्थ्य सेवा शुभारम्भ गरेको हो ।

अहिले समिति मार्फत सञ्चालनमा रहेका झण्डै ३ सय सवारी साधन मध्य लामो दुरीका २ सय ५० वटा सवारी साधनमा फस्ट एड बक्स राख्ने व्यवस्था मिलाएको धौलागिरी बस ब्याव्सायी समितिका अध्यक्ष उमेश केसीले जानकारी दिए । काठमाण्डौँको वेलनेस टिमबाट खरिद गरेको उक्त औषधीको बाकसमा रहेका औषधीका बारेमा सवारी चालक तथा सहचालकलाई तालिम दिएर सेवा प्रारम्भ गरिने समितिका अध्यक्ष केसीको भनाई छ । उनले आम मानिसलाई स्वास्थ्य सम्बन्धि सचेतना जगाउनका निम्ति पनि यस खालको कार्यक्रम ल्याएको बताए । स्वास्थ्य चौकी नभएको ठाउँ तथा तत्काल प्राथमिक उपचार गर्ने समयमा यसले सहयोग पुग्ने बताउनुभयो । सुरुमा २ सय बक्स खरिद गरेको भन्दै उनले केही दिनमा सबै सवारी साधनमा राख्ने व्यवस्था मिलाउने जानकारी दिए ।

कार्यक्रममा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष लक्ष्मी बास्कोटाले प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी ज्ञान यातायातमा मात्र नभएर घरघरमा समेत जरुरी रहेको बताईन । सामान्य उपचारका बारेमा पनि आम धेरैलाई जानकारी नहुँदा मृत्यु सम्मको पिडा भोग्नुपर्ने भएकाले प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी सचेतना फैलाउनुपर्नेमा उनको जोड थियो । उनले अहिले पनि प्राथमिक उपचार नपाएर कष्टकर जीवन बाँचिरहेकाहरु ग्रामिण भेगमा रहेकाले यस सेवालाई प्रभावकारी ढंगबाट अगाडी बढाउनुपर्ने बताईन ।

प्राथमिक उपचारका लागि आवश्यक पर्ने १६ वटा औषधी तथा औजारहरु बक्समा रहेका छन् । सामान्य मानिसहरुले पनि आफ्नो घरमा समेत फस्ट एड बक्स राख्नुपर्ने भन्दै वेलनेस टिमकी अध्यक्ष नितु खड्काले सचेतनाका निम्ति थालिएको अभियान बागलुङबाट सुरु भएको बताईन । यस संस्थाले ‘हरेक घर, फस्ट एड बक्स’ भन्ने नाराका साथ देशभर अभियान सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा वेलनेस टिमका सचिव ओम बिक्रम खड्काले कार्यक्रमको बारेमा जानकारी दिए । वेलनेस टिमले एउटा बक्सको १ हजार मूल्य पर्ने औषधीका २ सय वटा बक्स समितिलाई प्रदान गरेको छ । कार्यक्रमको संचालन धौलागिरी यातायात बस ब्याव्सायी समितिका महासचिव खेम लामिछानेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply