गल्कोट २०७६ बैशख २७ । पछिल्लो समय गल्कोट नगरपालिकाको शैक्षिक क्षेत्रमा अनुशासनहीनताका घटनाहरु बढ्न थालेका छन् । कतै विद्यार्थीहरुको फर्जी संख्या देखाएर आफन्तहरुलाई पायकको जागीर खुवाउन विद्यार्थीको भविष्यमाथी खेलबाड गर्नेकाम भएको छ भने कतै श्रद्धेय गुरु शिक्षकहरुमाथी विद्यार्थीहरुले हातपात गर्ने उच्छृंखलताको पराकाष्ठाका घटना घटिरहेका छन् ।
गल्कोट नगरपालिका- ४ स्थित खरुवा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत एक छात्रले विद्यालयका प्रधानाध्याक हेमराज गैरे माथी सांघातिक आक्रमण गरेर उच्छृंखलता र अनुशासनहीनताको डरलाग्दो उदाहरण प्रस्तुत गरेका छन् । घटना गत बैशाख २४ गते मंगलबारको हो । प्रत्यक्षदर्शीका अनुसार, प्रधानाध्यापक गैरेले पाठका बारेमा जनकारी लिन खोज्दा ठाडो जवाफ दिएको र पुस्तकहरुमा गातो हालेको भए राम्रो हुन्थ्यो नि भन्दा पनि तुच्छ बचन लगाएकोले एक पटक गालामा हानेका मात्र के थिए ती छात्रले प्रअ गैरेको छातीमा समातेर मुक्का बजाई हाले । तथानाम अश्लील फोहोर वचन प्रयोग गर्न सुरु गरेपछी अफिसमा लगेर अभिभावक, शिक्षक, जनप्रतिनिधीहरु भेला गराई घटनाका बारेमा जानकारी गराएर विवादलाई समाधान गर्न निज विद्यार्थीलाई अन्यत्र विद्यालयमा पढ्ने तर परीक्षा भने यसै विद्यालयबाट दिने व्यवस्था मिलाएर विद्यार्थीको भविष्य विग्रन नदिने सहमती भएको प्रअ गैरेले बताए ।
तर त्यस्को भोलि पल्ट विद्यालयमा आएर ती विद्यार्थीले, ‘तलाई मारिन भने मेरी …..’ जस्ता सार्वजनिकरुपमा बोल्न पनि नहुने शव्दले गाली गर्न लागेपछी सुरक्षाको लागि प्रहरीलाई बोलाएको प्रअ गैरेले ईबागलुङलाई बताए ।
यस घटना पछी विद्यालय तनावग्रस्त छ । शिक्षकहरुले असुरक्षित महसूुस रहेका छन् । तीन सय विद्यार्थीहरुले पठनपठन गर्ने यस खरुवा माध्यमिक विद्यालयमा मावि १, निमावि ४ र प्राविमा ५ स्थायी दरवन्दीका शिक्षकहरुले अध्यापन गराई रहेका छ्न् । अन्य ५ जना शिक्षकहरु स्थानीय श्रोतबाट तलब खाईरहेका छन् ।
विद्यार्थी, अभिभावक, स्थानीयवासी, जनप्रतिनिधीहरुलाई भेला गराएर जतिसक्यो छिटो विवाद समाधान गरी विद्यालयको शैक्षिक वातावरण सहज बनाउन सरोकारवाला निकायले जिम्मेवार भूमिका निर्वाह गर्न जरुरी छ ।
हरिचौरको एक प्राथमिक बिद्यालयमा पठनपाठन गर्ने २० जना विद्यार्थी घटेर जम्मा ५ जना विद्यार्थी रहेको समाचार प्रकाशित भएको क्षणभरमै त्यस्को बास्तविकता समेत बुझ्न आवश्यक नठानी खण्डन मण्डनमा मैदानमा उत्रने नगरपालिका, खरुवा माध्यमिक विद्यालयको मंगलबार घटेको घटना प्रति किन संवेदनशील देखिदैन ? बौद्धिक जगतमा चर्चाको विषय बनेको छ ।
हरिचौर स्थित नवयुग प्राथमिक विद्यालयमा केहि दिन पहिले सम्म २० जना बालबालिकाले अध्ययन गरिरहेपनि अहिले बिद्यालयमा जम्मा ५ जना विद्यार्थीहरु रहेको समाचार प्रकाशित भएको विषयलाई लिएर ‘भ्रामक’ समाचार भनेर खण्डन गर्दै २६ जना बालबालिका भर्ना भएको भएपनि आज २३ जना विद्यार्थी अध्ययन गरिहेको भनी १९ जना सानासाना बालबालिकाहरुको सामुहिक तस्वीर खिचेर वितरण गर्ने काम गरियो । समाचारमा २० जना विद्यार्थीमा अहिले घटेर ५ जना मात्र बाँकी रहेकाले विद्यालयको व्यवस्थापनमा सुधार गर्न सुझाव दिन खोजिएको थियो । अभिभावकहरुलाई आफ्ना बालबालिकालाई सोहि विद्यालयमै ल्याउन जुन दबाबमूलक अभियान सन्चालन गरेर २६ जना पुराएको प्रमाणित गर्न खोजियो र सत्य समाचारलाई भ्रामक भनेर ढाकछोप गर्ने (जामा पहिराउने) काम भयो त्यो आफैमा आठौँ आश्चर्य थियो ।
शिक्षा ऐन र नियमावली अनुसार एउटै कक्षामा कम्तीमा ४५ विद्यार्थी संख्या हुनु पर्नेमा नर्सरी, केजी र कक्षा १ देखी ५ सम्म ७ कक्षासम्म अध्यापन गराईने नवयुग प्राथमिक विद्यालयमा जम्मा २६ जना बालबालिका भर्ना भएका छन् भन्ने तथ्यांक देखाएर भन्न र गर्न के खोजिएको हो ? त्यस्को नगरपालिकाले गम्भीरता पूर्वक संज्ञान लिनु पर्ने थियो, उल्टै ‘भ्रामक’ भनेर सतहीरुपमा खण्डन गरेर बिद्यार्थीहरुको भविष्य माथी खेलबाड गर्ने काम भएकोमा अभिभावक चिन्तामा छन् ।
के नर्सरी, केजी, कक्षा- १, कक्षा- २, कक्षा- ३, कक्षा- ४ र कक्षा- ५ गरी विद्यालयका सातवटा कक्षाहरुमा जम्मा २६ जना बालबालिका भर्ना भएको विवरण प्रस्तुत गरेर कति दिन सम्म विद्यालय टेको लगाउने ? पहिले विद्यालयको व्यवस्थापन, पठनपाठन, भौतिक पूर्वाधारको विकासमा ध्यान गरौं विद्यालयको व्यवस्थापन राम्रो गर्न सके त विद्यार्थी संख्या त बढ्छन् होला नि !
तस्वीर- खरुवा मावि, गल्कोट नगरपालिका ४, बागलुङ