सुवास गौतम, बागलुङ २०७६ जेठ ११ । बागलुङ नगरपालिका–८ सिगानाका चिया कृषकहरुलाई तीन दिने आधारभूत प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ ।
चिया कृषकलाई चिया खेती रोप्ने, काट छाट गर्ने तथा हेरचाह गर्ने आधारभूत तरिका सिकाइएको छ । ८ गते देखि शुरु भएको तालिम १० गते सम्पन्न भएको हो । बागलुङ नगरपालिकाको कार्यालयको आर्थिक सहयोग तथा वडा कार्यालयको संयोजन सिगानाका ३८ जना चिया कृषकहरुलाई आधारभूत तालिम प्रदान गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनराज पौडेलले जिल्लामै पहिलोपटक चिया खेतीको व्यवसायिक चिया खेतीको शुरु गरिएको बताउदै चियावाटै कृषकहरुलाई आत्मनिर्भर हुन सक्ने बताए ।
उनले कृषकलाई सिकेका कुरा व्यवहारमा उतार्न कृषकहरुलाई आग्रह गरेका छन् । समापन कार्यक्रममा सहभागी चिया कृषक जगत जि.सी, प्रशिक्षक निर्मल कुमार घिमिरे, समाजसेवी शिव खड्का, वडा अध्यक्ष राजन जि.सी. लगायतले बोलेका थिए ।
कार्यक्रम बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक जीवन आचार्यको अध्यक्षता तथा नगरपालिका कृषि शाखाका सरस्वती रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।