पूर्णभद्र निउरे, ताराखोला २०७६ जेठ १४ । ताराखोला गाउँपालिकाले जनतासंग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । स्थानीय तह स्थापना पछि जनप्रतिनिधि बाट भए गरेका कार्यहरु बारे जनताहरु संग छलफल गर्दै जनताका गुनासा र सुझाव लिने उदेश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।
यसरी संचालन गरिएको कार्यक्रमले आगामी आ ब को नीति ,कार्यक्रम र योजना निर्माणका लागि समेत सहयोग पुग्ने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले बताए । कार्यक्रमको शुरुआतमा आज वडा न १ मा कार्यक्रम सम्पन्न भएको छ ।
वडा न १ का जनताले टुक्रे योजनाहरुमा बजेट छरिएको, लक्षित बर्गको बजेट कम भएको, आबस्यकताको प्राथमिकिकरण नगरी बजेट बिनियोजन भएको जस्ता गुनासा राखेका थिए ।
बैंकिङ क्षेत्रबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दा आफुहरुलाइ असहज भएको गुनासो राख्दै सम्बन्धित बैंकले वडास्तरमै पुगेर बितरण गर्ने ब्यबस्था मिलाउन आग्रह समेत गरेका थिए।
कार्यक्रममा उपस्थित स्थानीयका गुनासा पछी बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश घर्ती र वडा अध्यक्ष याम बहादुर श्रीसले जनताबाट आएका गुनासा र सुझावलाई आत्मसात गर्दै अगाडि बड्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
उपाध्यक्ष दिल कुमारी पुन रोका, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा वडा न १ का अध्यक्ष याम बहादुर श्रीस र १ न वडा का सम्पूर्ण वडा सदस्य सहित को उपस्थिति मा सम्पन्न कार्यक्रममा वडा भित्रका राजनैतिक दल , संघसंगठन , महिलासमुह , युवा क्लब , विभिन्न उपभोक्ता समिती का प्रमुख तथा प्रतिनिधि लगायत स्थानीय को सहभागीता रहेको थियो ।
आज देखि सुरु भएको कार्यक्रम भोलि देखि क्रमशः २, ३,४ हुँदै १८ गते वडा न ५ मा पुगेर सकिने बताइएको छ । सोही अबसरमा ताराखोला गाउँपालिकाले वडा भित्र का ५ जना जेष्ठ नागरिकलाई फुल माला र १/१ सेट फाइबरको सिरक सहित सम्मान गरेको छ ।
कार्यक्रम वडा अध्यक्ष याम बहादुर श्रीस को अध्यक्षता, वडा सचीव जित बहादुर सुनार को संचालन र वडा सदस्य गौरिमाया गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।