खेमराज अर्याल, बुर्तिबाङ २०७६ जेठ २५ । निसीखोला गाउँपालिकाको वडा नम्बर २ काल्नेचौरमा जनहित आधारभूत विद्यालयको २१ औँ वार्षिकोत्सव तथा परिवर्तनशील युवा क्लवको छैठौँ वार्षिकोत्सव कार्यक्रम हालै सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी एवं ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले उद्घाटन पछी बोल्दै विकास र समृद्धिका लागि अग्रसर हुने जनप्रतिनिधि तथा समाजसेवीलाई जनताले साथ दिनुपर्ने बताए । उनले जनताले आफु जुनसुकै राजनैतिक आस्थाको भएपनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने र राम्रो काम गर्ने व्याक्तिलाइ हरबखत सहयोग गर्नुपर्ने बताए । उनले काल्नेचौर पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले होमस्टे सञ्चालन गर्न सकिने बताए ।
नगर प्रमुख नेपालीले पछिल्लो समय गुणस्तरिय शिक्षाका लागि ग्रामिण क्षेत्रबाट अभिभावक बालवालिका लिएर बजार पस्ने चलन हुदा गाउँ रित्तिदै गएको बताउँदै गाउँमा रहेका सामूदायिक विद्यालयको शैक्षिक स्तर सुधारको आवश्यकता रहेको औँल्याएका थिए । बजारकेन्द्रित अभिभावकलाइ गाउँ फर्काउन सामुदायिक विद्यालयका शिक्षक सक्रिय बन्नुपर्ने र शैक्षिक क्षेत्रमा खेलवाड गर्दा धेरै बालबालिकाको भविष्य अन्धकारमा पर्ने हुदा विद्यार्थीको भविष्य सोचेर उपयुक्त शिक्षा प्रदान गर्नुपर्ने नगरप्रमुख नेपालीको भनाई थियो ।
गतवर्ष सो विद्यालयमा आफ्नो निजी खर्चमा एक जना शिक्षक राखिदिएका नगरप्रमुख नेपालीले यस वर्ष एक वर्ष म्याद थपेर आफुले व्यक्तिगत रुपमै तलबभत्ता भुक्तानी गरिदिने बताए । सो अवसरमा उनले क्लवका लागि रु ५१ हजार सहयोग गर्ने उद्घोष समेत गरे ।
विद्यालयकी प्रधानाध्यापक निलकुमारी खत्रीले विद्यालयमा आर्थिक अभावका कारण विद्यालय सञ्चालनमा समस्या हुने गरेको बताईन भने क्लवका संस्थापक अध्यक्ष दिलेन्द्र कुवरले विद्यालय र क्लवका लागि खेल मैदान अभाव हुदा खेलकुद कार्यक्रम जग्गा भाडामा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।
कार्यक्रममा रत्नराज्य लक्ष्मी माविका प्रअ मान बहादुर केसी वडा नम्बर २ का वडाध्यक्ष कुविर विक ढोनपा १ का वडाध्यक्ष चित्र बहादुर भण्डारी लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम विव्यस अध्यक्ष इद बहादुर रसाइलीको अध्यक्षता र शिक्षक झम सिर्पालीको सञ्चालनमा सम्पन्न भएको थियो ।