महेन्द्र केसी, पर्वत कुस्मा २०७६ जेठ २५ । सदरमुकाम कुस्मा खरेहा देखी अधिकारी फाँट ज्ञादी जोड्ने गरी मोदी खोलामा निर्माण भएको झोलुङ्गे पुल निर्माण भएको एक महिना नबित्दै भत्किने अवस्थामा छ । लामो र अग्लो पुलहरुले चिनिएको पर्वत जिल्ला खासगरी कुस्मा बजारमा पछिल्लो समय अधिकारी फाँट ज्ञादी जोड्ने गरी निर्माण गरिएको ३ सय ५९ मिटर लामो र १ सय २८ मिटर अग्लो झोलुंगे पुल कमजोर देखिएपछी स्थानीयवासी आक्रोशित बनेका छन् भने पुल निर्माणमा व्यापक भ्रष्टाचार भएको भन्दै पुल निर्माणमा संलग्न ईन्जिनियर, ठेकदार कम्पनिलाई अबिलम्ब कार्बाहीको माग गरेका छन् ।
२०७५ सालमा निर्माण सुरु भएको यस झोलुंगे पुल संचालनमा नआउँदै विग्रिनुले पुल निर्माणमा लाखौको भ्रष्टाचार भएको स्थानीयबासीले आशंका गरेका छन् । दुई करोडमा निर्माण भएको पुल सम्पन्न भएपछि ज्ञादी, शंकरपोखी, खौलालाँकुरी, पिपलटारीका बासिन्दाहरुलाई सदरमुकाम झर्न सजिलो भएको थियो । पुलमा आवातजावत गर्दा पुल बाँङ्गो र कमजोर भएको महसूस गरेको स्थानीयबासीले बताएका छन् ।
पुलको लट्ठा कस्नेभन्दै अहिले पुलको वाल भत्काउन शुरु गरिएको छ भने पुलको साइटमा लगाइएको तार जाली पनि निकाल्ने बताइएको छ । पुल उद्घाटन र हस्तान्तरण नहुँदै जीर्ण बनेपछि निर्माण कम्पनीले फेरी बनाउन थालेको छ तर पुलको गुणस्तरमा भने अझै प्रश्न चिन्ह उठेको छ । निर्माण सम्पन्न भएको महिना दिन नबित्दै भत्किने अवस्थामा पुगेको झोलुंगे पुललाई टालटुल पारेर मरमर गर्नु भनेको जनताको ज्यूज्यानमाथी खेलबाड गर्नु हो भन्दै स्थानीवासी बिरोधमा उत्रिएका हुन् ।
कुस्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवास शर्मा पौडेलले पुल हस्तान्तरण भइनसकेकोले यसको सम्पूर्ण जिम्मेवारी निर्माण पक्षले नै लिने बताए । उनले यस विषयमा मन्त्रालयसम्म कुरा पुगिसेको बताए । पुल हस्तान्तरण भइनसक्दै भत्किने अवस्थामा पुग्नु आफैमा दुखद भएको भन्दै उनले त्यसबारेमा छानविन हुने पनि बताए ।