हेम विश्वकर्मा ढोरपाटन २०७६ असार २ । जिल्ला समन्वय समिति बागलुङले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ भएको भन्दै समयमै सम्पन्न गर्न सम्बन्धित निकायमा माग गर्ने निर्णय गरेको छ ।
जि.स.स.का प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा आइतवबार जिल्लाको ढोरपाटन नगरपालिकाको वडा नं ९ ढोरपाटनमा बसेको समितिको १६ औँ बैठकले राष्ट्रिय गौरवका आयोजनाहरु उत्तरगंगा जलबिद्युत् आयोजना, मध्य पहाडी लोकमार्ग, कालिगण्डली करिडोर, सालझन्डी ढोरपाटन सडक खण्ड लगाएतका संरचनाहरुको अनुगमनका क्रममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानार्कषण गराएको छ ।
सोही क्रममा समितिका प्रमुख ढुंगानाले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । विकाससँग सम्बन्धित ती आयोजनालाई छिटो अघि बढाउन केन्द्र र प्रदेश सरकार चनाखो हुनुपर्ने र ठेकेदार कम्पनीलाई खबरदारी गरीनुपर्ने ढुंगानाको भनाई छ ।
बागलुङको ढोरपाटन नगरपालिकाको उत्तरगंगा नदीलाई निसीखोला गाउँपालिकामा सुरुङ मार्फत खसालेर निर्माण गरिने भनिएको, उत्तरगंगा जलाशययुक्त विद्युत् आयोजना राष्ट्रको हित, जनताको चाहना अनुसार बागलुङमै निर्माण गरी ८ सय २८ मेगावाट क्षमताको बिद्युतलाई समृद्धि सँग जोड्न सकिने उपप्रमुअ बिष्णु भुसालले जानकारी दिए । त्यसका लागि सम्बन्धित निकायले चासो दिनुपर्ने भन्दै उपप्रमुख भुसालले ससञ्चालन प्रक्रियामा आएको अवरोधलाई तत्काल समाधान गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
नेपालको एकमात्र सिकार आरक्ष भएको पर्यटकीय क्षेत्र ढोरपाटनको बिकास र पर्यटन प्रर्बद्धन तथा बिकास निर्माणको बिषयमा सरकारको ध्यानाकर्षण समेत गराएको छ । जिल्लाका स्थानियतहहरुमा समझौता भइरहेका अन्य सडक योजना, मोटरेवल पुल, स्वास्थ्य चौकी लगाएतका संरचनाहरुमा भइरहेका ढिलासुस्ती प्रति पनि समितीले खबदारी गरिरहेको छ ।