Sorry, that menu does not exist.
 

छुवाछूत न्यूनिकरणका लागी दलित र गैरदलित नागरिकले परम्परागत सोँच परिर्वतन गर्न आवश्यक-नेपाली

सुमन सुनार, बुर्तिबाङ २०७६ असार ५ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले जातिय भेदभाव तथा छुवाछूत न्यूनिकरणका लागी दलित र गैरदलित समुदायका नागरिकले परम्परागत सोँच परिर्वतन गर्न आवश्यक रहेको बताएका छन् । दलित सञ्जाल तमानखोला गाउँपालिका वडा नं. ४ द्धारा आयोजित वडा स्तरिय दलित आम सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गैरदलितमा म ठूलो जातको भन्ने दम्भ र दलितमा म सानो जातको भन्ने हिनताबोधका कारण छुवाछुत अन्त्य हुन नसकेको नगर प्रमुख नेपालीले बताए ।

नेपालीले दलित समुदायलाई फुटाउ र शासन गर भन्ने परिपाटी अझैपनी गैरदलित समुदाय भित्र रहेको बताउँदै दलितहरु त्यस्ता कुराहरुमा सचेत हुँदै एकताबद्ध भएर छुवाछूत विरुद्धको अभियानमा लाग्न आग्रह गरे । आर्थिक, सामाजिक, राजनितिक, साँस्कृतिक तथा जातिय हिसाबले उत्पीडनमा परेका दलित समुदायको हक, हित र अधिकारका निम्ती आफुले धुरी खम्बाको रुपमा उभिएर संघर्ष गर्ने नगर प्रमुख नेपालीले प्रतिबद्धता जनाए । छुवाछूत दलित समुदायको मात्र नभएर सिंगो राष्ट्रको समस्या भएको भन्दै यसको अन्त्यका लागि ब्यक्ति, समुदाय, सरकार, राजनैतिक दल सबैले सामुहिक भावनाले काम गर्नुपर्ने बताए । त्यसैगरी जनचेतना जगाउन युवाहरुको पनि विशेष भूमिका रहने भन्दै जातिय विभेद अन्त्य गर्न युवाहरु सक्रिय हुनुुपर्ने नेपालीको भनाई थियो ।

सोही अवसरमा नगर प्रमुख नेपालीले तमानखोला गाउँपालिकाको लाम्मेलामा दलित सञ्जालको भवन निर्माणका लागि आफुले व्यक्तिगत रुपमा रु. १ लाख ५ हजार आर्थिक सहयोग समेत गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले जातीयता उन्मूलन भएको भनेर बर्षौ अघिदेखी घोषणा गरिएपनि अझै त्यसको व्यबहारमा कार्यान्वयन हुन नसकेको बताएका छन् । विभेद विरुद्धका कानुनहरुको प्रभावकारी रुपमा कार्यन्वयन गर्दै विभेदकारी समाजिक र धार्मिक मान्यताहरुलाई विस्थापित गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन् । त्यस्तै उनिहरुले हरेक क्षेत्रमा सक्षम हुँदा हुँदै पनि विभिन्न प्रलोभनमा पर्नु र दलित समुदायबाट सक्षम नेतृत्व जन्माउन नसक्नु पनि विभेद अन्त्य नहुनुको प्रमुख कारण रहेको बताएका छन् । दलित समुदायको जागरण र छुवाछूत उन्मूलनका लागि स्थानिय सरकार सहित सरोकारवाला निकायहरु गम्भीर हुन आवश्यक रहेको समेत उनिहरुले बताएका थिए ।
कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष उदिम बहादुर छन्त्याल, निसीखोला गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष कुविर विश्वकर्मा, दलित अधिकारकर्मीहरु श्याम विश्वकर्मा, अशोक विश्वकर्मा, छ प्रसाद श्रीपाली, नारायण सुनार, चन्दा श्रीपाली लगायतले बोलेका थिए ।

कार्यक्रममा स्थानिय मारुनी, सोरठी र पञ्चेबाजाको प्रस्तुति समेत रहेको थियो । कार्यक्रमकै अवसरमा ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले स्थानिय आमा समुह र स्थानिय कलाकारहरुलाई नगद रकम सहित सम्मान समेत गरेका थिए ।

दलित सञ्जाल वडा नं. ४ का अध्यक्ष तेजिन्द्र श्रीपालीको अध्यक्षता रहेको कार्यक्रममा दलित सञ्जाल तमानखोला गाउँपालिका अध्यक्ष चन्द्र प्रकाश श्रीपाली, ढोरपाटन नगरपालिका वडा नं. ४ र ८ का वडा सचिव बिराज विश्वकर्मा, बोंगादोभान प्रहरीचौकी इन्चार्ज पदम बहादुर नेपाली लगायत स्थानिय समाजसेवी, बुद्धिजिबीहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा सञ्जाल सचिव ओम बहादुर श्रीपालीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन चन्द्र प्रकाश श्रीपालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply