मनु सुनार, गुल्मी २०७६ असार ७ । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुमा हालै भएको जातीय भेदभाव छुवाछुतको घटना प्रति दलित संघसंस्था तथा दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
२०७६ जेठ २१ गते धुर्कोट गाउँपालिकामा एक गैरसरकारी संस्थाले वृद्धवृद्धाहरुका लागि सामुदायिक भवनमा आयोजना गरेको दिवासेवा कार्यक्रममा केही दलित वृद्धवृद्धाहरुलाई छुवाछूट तथा भेदभावपूर्ण व्यवहार भएको थियो । जहाँ दलित वृद्धवृद्धाहरुले खाएको फलफुलका बोक्राहरु र भाडाँ नउठाईएको तथा भाँडा माझ्न समेत लगाईएको थियो भने यहि असार ३ गते सोही स्थानको कालिका मन्दिरमा ५ महिने बालकलाई सातो गएकाले फुकाउन लगिएकोमा उक्त मन्दिरमा रहेका पुजारीले अपमान गरेको तथा दलितलाई छुन्न बरु मर्न तयार छु भन्दै बच्चालाई पातमा टिका राखी भुईमा दिएका थिए ।
सोही घटनाप्रति आज एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्लामा रहेका दलित संघसंस्था तथा दलित अधिकारकर्मीहरुले अहिलेको एक्काईसौ शताब्दीमा पनि विभेद तथा अमानवीय व्यवहार गर्नु लज्जाको बिषय भएको भन्दै खेद प्रकट गरेका छन् ।
दलित साझा मञ्चका अध्यक्ष गणेश बिश्वकर्मा,नेपाल उत्पीडित जातीय मुक्ति समाजका कृष्ण नेपाली,नेपाल दलित संघका लुम बहादुर सुनार,जातीय समता समाजका केशर बहादुर विश्वकर्मा,दलित महिला संघकी कमला बराल,उत्पीडित समुदाय उत्थान केन्द्रका धनेरन्द्र विश्वकर्मा,गुल्मी सुनचाँदी व्यवसायी संघका झविन्द्र विश्वकर्मा, परियार सेवा समाजका लक्ष्मण परियार,नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाकी कमला परियार,दलित अधिकारकर्मी रोम बिश्वकर्माद्धारा सयुक्त हस्ताक्षित विज्ञप्ती मार्फत उक्त घटनाप्रति खेद प्रकट गदै घटनाका दोषीहरुलाई तुरुन्त कडा कानुनी कार्वाही गनुपर्ने माग समेत गरिएको छ ।
घटनाका दोषीहरुलाई कार्वाही नगरिएमा यसबाट उत्पन्न हुन सक्ने परिणामको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने भन्दै चेतावनी समेत दिईएको छ ।