बसन्त ढकाल, काठमाडौँ २०७६ असार १२ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसाे २ बजे बैठक बाेलाएकाे छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।
एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई ई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनु पर्नेछ।
देशको अग्रणी एसएमएस संस्था स्प्यारोले विगत ९ वर्ष देखि एसएमएस सेवा मार्फत विद्यार्थीहरूलाई आफ्नो परीक्षा नतिजा प्राप्त गर्न मदत गर्दै आइरहेको छ ।
याे वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको हो।
नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला भएकाे हो।