Sorry, that menu does not exist.
 

समाजमा एचआइभी एड्स संक्रमितलाई गरिने भेदभावको अन्त्य गरी समान व्यवहार गर्न आवश्यक !

बागलुङ २०७६ असार १३ । एआरटी सेन्टर बागलुङले आज एच आइभी एड्स लान्छना र भेदभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

धौलागिरि अस्पतालद्वारा सञ्चालित एआरटी सेन्टरले अस्पतालमा कार्यरत डाक्टर तथा स्वस्थ्यकर्मीहरुलाई एच आइभी एड्स लान्छना र भेदभाव तथा यसले पार्न सक्ने दीर्घकालीन असरका विषयमा जानकारी गराइएको थियो । अन्तरक्रिया कार्यक्रममा समाजमा संक्रमितलाई गरिने भेदभावको अन्त्य गरी समान व्यवहार गर्न आवश्यक रहेको बक्ताहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक तथा वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापाले एच आइभी संक्रमितहरु पनि समाजमा अरु मानिस जस्तै बाँच्न सक्छन् भन्ने सचेतना फैलाउन आवश्यक रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्डेन्ट डा.सागर राजभण्डारीले एआरटी सेन्टर बागलुङले प्रदान गरेको सेवा तथा एअचाइभी एड्सको अवस्थाका वारेमा सहजीकरण गरेका थिए । त्यस्तै अस्पतालका जनस्वास्थ्य अधिकृत राम प्रसाद खनालले संक्रमितहरुलाई लान्छना र भेदभाव गर्दा निस्कन सक्ने नराम्रो प्रभावका विषयमा प्रकाश पारेका थिए ।

अहिले बागलुङ जिल्लामा भएका ३७५ संक्रमितहरु मध्ये १७५ जनाले औषधी सेवन गरिरहेका छन् भने केही पर्वत तथा म्याग्दीमा समेत रिफर भएर गएको एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदिप आचार्यले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा सन् २०२० सम्ममा सक्रमितहरु मध्ये ९० प्रतिशतलाई एआरटी सेन्टरको पहुँचमा ल्याउने जानकारी गराइएको थियो । कार्यक्रममा धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले पनि मन्तव्य व्यक्त गरेका थिए ।

अहिले एआरटी सेन्टरमात्र नभई प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट समेत एचआइभी एड्सको परामर्श तथा उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।
कार्यक्रम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजभण्डारीको अध्यक्षता, जनस्वास्थ्य अधिकृत खनालको स्वागत तथा एआरटी सेन्टरका प्रमुख परामर्शदाता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply