मनु सुनार, गुल्मी २०७६ असार १३ । गुल्मीको सदरमुकाम तम्घासमा ‘लागु औषध तथा दुर्व्यसन विरुद्ध’ सरोकारवाला बिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल आदीवासी जनजाति महासंघ केन्द्रिय कार्यालय ललितपुरको सहयोगमा नेपाल आदीवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले लागु औषध प्रयोगकर्ताहरु बढीरहेको अवस्थामा यसको रोकथाममा चुनौती थपिदैँ गएको बताएका थिए ।
नेपाल बार एसोसियनका गुल्मीका अध्यक्ष गोपाल खनालले समस्याको जरासम्म पुग्न नसक्दा यसले समस्या निम्ताउँदै गएको बताए । उनले लागु पदार्थ दुर्व्यसनका कारण दिनप्रतिदिन युवाहरुको जीवन भयावह हुँदै गएको पनि बताए ।
खनालले ‘ लागु पदार्थ बोक्ने भरिया मात्रै समातिन्छन् । तर कस्ले सञ्चालन गरिरहेको छ भन्ने पत्तो लाग्दैन् ।’यसको नियन्त्रणका लागि गहिरो अनुसन्धानको आवश्यकता रहेको औल्याए ।
‘कानुनले त लागु पदार्थ दुव्र्यसनीलाई निषेध गरेकै छ ।’ खनालले भने ‘अनुसन्धानलाई मूल जरोसम्म पुर्याउनुपर्छ ।’ यसप्रति समयमै ध्यान दिन नसकिए यसले डरलाग्दो मोड ल्याउनेप्रति उनले सचेत बनाए ।
रेसुङ्गा बहुमुखी क्याम्पस प्रमुख हरि बहादुर खत्रीले लागु पदार्थ दुव्यसनीमा धेरै युवा उमेरका फस्न सक्ने भएकाले अभिभावकहरु पनि सचेत बन्नुपर्ने सल्लाह दिए ।
उनले आफ्ना छोरा–छोरीले के गर्दैछन् । स्कुल तथा क्याम्पसका नियमित रुपमा गएका छन्, छैनन् भनेर सोधखोज गर्नु पनि आवश्यक रहेको बताए । शंका लागेको व्यवहार देखाए तुरुन्त त्यसतर्फ ध्यान दिनु जरुरी रहेको खत्रीको भनाई थियो । सहभागीहरुले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजानु पर्ने बताएका थिए ।
नेपाल आदीवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष गणेश बहादुर सारुको अध्यक्षता रहेको कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाली कंग्रेसका जिल्ला सदस्य महेन्द्र भण्डारी, रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख खत्री, होटल व्यवसायी मञ्चका अध्यक्ष भेषराज कंडेल, हाम्रो जीवन प्लसकी सावित्रा ज्ञवाली, मानवअधिकारकर्मी गणेश विश्वकर्मा, नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री लगायत,विभिन्न सरकारी तथा गैरसरकारी संघसंसस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेखनीय सहभाग्रीता रहेको थियो ।
बिमल छन्तेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर कुवँरले सहजीकरण गरेका थिए ।