Sorry, that menu does not exist.
 

पूर्णखोप सुनिश्चितता तथा दीगोपनका लागी अभिभुखीकरण गोष्ठी : बागलुङ जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा !

बागलुङ २०७६ असार २६ । बागलुङ सदरमुकाममा हिँजो असार २५ गते सम्पन्न पूर्णखोप सुनिश्चितता तथा दीगोपनका लागी जिल्लास्तरीय अभिभुखीकरण तथा योजना गोष्ठीले बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितताको प्रमाणीकरण गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको थियो ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री ।
गोष्ठीमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कर्मचारीहरुलाई यस महान अभियानलाई निरन्तरता दिन र गुणस्तरीयता कायम राख्न आग्रह गरेका थिए । गोष्ठीमा गल्कोट र जैमिनी नगरपालिकाका नगरप्रमुखहरु क्रमश: भरत गैरे र इन्द्रराज पौडेलले बागलुङ जिल्लालाई पूर्णखोपा सुनिश्चितताको प्रमाणीकरण निरन्तरतालाई प्रतिवद्धता व्यक्त गरेका थिए भने धौलागिरी अन्चल अस्पतानका डा सागर राजभण्डारीले खोपको महत्व र उपलब्धिका वारेमा आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए ।

जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल ।

गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे ।

धौलागिरी अन्चल अस्पतालका डा सागर कुमार राजभण्डारी ।

कार्यक्रममा सदस्य सचिव एवं स्वास्थ्य कायालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय खोप कार्यक्रमको अवस्था तथा उपलब्धि स्वास्थ्य निर्देशनालयका खोप अधिकृत बद्री आचार्यवाट प्रस्तुत गरिएको थियो ।

बरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारी ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषाल, रेडक्रस,, गै स स जिल्ला अध्यक्ष, सुआहाराका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

बागलुङ जिल्ला पूर्ण खोप दिगोपनाको सुनिश्चितता अभियानको प्रतिवेदन

नेपालभित्रको नेपाल (मिनि नेपाल) को नामले चिनिने बागलुङ जिल्ला भौगोलिक विविधताले भरिएको अनुपम सुन्दर र रमणीय पहाडी जिल्ला हो । ढोरपाटन शिकार आरक्ष र झोलुङ्गे पुलले विश्वमा परीचित गराएको बागलुङ जिल्ला स्वास्थ्य संरचना तथा सेवाको प्रवाहमा अनवरत तल्लिन छ सोही अनुसार आमा तथा बच्चाको मृत्युदर, विरामीदर र अशक्ततादर कमि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत यस बागलुङ जिल्लालाई गत बर्ष अर्थात् आषाढ १५ गते हामीले पूर्ण खोप सुनिश्चितता ( जिल्ला भित्रका सम्पूर्ण वालबालिकाहरुले पूर्ण खोप लगाईसकेका र कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट नछुटेको ) घोषणा गर्दै यसको निरन्तरता र दिगोपनाको लागि प्रतिवद्धता जाहेर गरेको कुरा यहाँहरु हामी सबैलाई अवगत नै छ । सोही अनुरुप आज हामी अनपेक्षित वर्षातले सिर्जिएको भौगोलिक कठिनाई, संघियताको कार्यान्वयन सँगै संघ, प्रदेश र स्थानिय तह बिचको समन्वयात्मक अन्योल, कर्मचारी समायोजनबाट सिर्जित असन्तुलित परिस्थितिका बावजुद पनि यहाँहरु सबैको अथक प्रयासबाट यस बागलुङ जिल्लालाई पूर्ण खोपको निरन्तरता तथा दिगोपनाको सुनिश्चितता प्रमाणिकरण (घोषणा) गर्न पाउँदा जिल्ला खोप समन्वय समिति र सचिवालय ( स्वास्थ्य कार्यालय बागलुङ ) गौरवान्वित भएको छ ।

सोह्र हजार पर्वतको नामले प्रसिद्ध यस जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो । पूर्वमा पर्वत , पश्चिममा रुकुम, रोल्पा, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गुल्मी र प्युठान जिल्लाको विचमा अवस्थित छ । ऐतिहासिक महत्व बोकेको बागलुङ कालिका भगवती मन्दिर, निमार्णाधिन अवस्थामा रहेको विश्वशान्ति सर्बसिध्दिधाम पञ्चकोट बलेवामा रहेको भैरवस्थान मन्दिर, कुश्मिशेराको जैमिनेश्वर मन्दिर, बोबाङको ढोरबराह मन्दिर लगायतका थुप्रै धार्मिक स्थलहरु रहेका छन। जिल्लाबाट २० भन्दा बढि प्रकारका जडिबुटीहरु निकासी गरिन्छ । जिल्लामा हनुमान नाच, सोरठी, घाटु, जोगीनाच यानीमायाँ लोकदोहोरी प्रमुख लोक संस्कृतिको रुपमा रहेका छन ।

बागलुङ जिल्लामा ४ वटा नगरपालिका र ६ वटा गाँउपालिका रहेका छन् । जिल्लाभित्र एक अंचल अस्पताल, ३ प्रा.स्वा.के, ५८ वटा स्वास्थ्य चौकी, २० वटा सामुदायिक स्वास्थ्य इकाइ र ५ ओटा शहरी स्वास्थ्य केन्द्रहरु रहेको छन । १४४ वटा गाँउघर क्लिनिकबाट प्राथमिक उपचार लगायत परिवार नियोजन, सुरक्षित मातृत्व, पोषण आदि सेवाहरु र १८५ वटा खोपकेन्द्रबाट मासिक झण्डै ५०० तथा बार्षिक ६००० बालबालिकाहरुलाई खोपसेवा प्रदान गरीदै आएको छ । समुदाय स्तरमा ९५० जना महिला स्वास्थ्य स्वयमसेविकाहरु कार्यरत छन । राष्ट्रिय जनगणना २०६८ अनुसार बागलुङ जिल्लाको कुल जनसंख्या २,६८,६१३ जसमध्ये महिलाको संख्य १,५०,६१६ र पुरुषको संख्या १,१७,९९५ रहेको छ । जिल्लाको वार्षिक जनसंख्या वृद्धि दर –०.१ प्रतिशत रहेको छ ।

जन्म पश्चात सम्पूर्ण बालबालिकाहरुले पूर्ण खोप लगाउन पाउनु पर्ने उनीहरुको नैर्सगिक अधिकारलाई सुनिश्चित गर्दै नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम अनुसार सबै बालबालिकाहरुले जन्मेको १५ महिनाको उमेर भित्रै पूर्ण खोप प्राप्त गरी विभिन्न खोपजन्य रोगहरुबाट सुरक्षित हुन सकुन् भन्ने उद्देश्य अनुरुप पूर्ण खोपको अवधारणा वि.स. २०६७ बाट अछाम जिल्लाको भागेश्वर गा.वि.स. बाट शुरु गरी हालसम्म ५६ जिल्ला पूर्णखोप सुनिश्चित भईसकेका छन् र २०७५ आषढ १५ गतेका दिन जिल्ला खोप समन्वय समिति बागलुङको बैठक बाट निर्णय गरी बागलुङ जिल्लालाई ४७ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको व्यहोरा यहाँहरुलाई विदितै छ र आज हामी यसको निरन्तरता र दिगोपनाको सुनिश्चितता प्रक्रियामा अगाडी बढीरहेका छौं ।

बागलुङ जिल्लामा स्वास्थ्य सूचना व्यावस्थापन केन्द्रबाट प्राप्त तथ्याङ्क अनुसार जन्मे देखि १५ महिना सम्मका बालबालिकाहरुको सर्वेक्षण गर्दा वास्तविक ६३१४ रहेको देखिन्छ जसमध्ये ९८.८५ प्रतिशत बच्चाहरुको खोपकार्ड भएको पाइयो । त्यस्तै गरी १६–२३ महिनाका बालबालिका ३८९४ जना रहेकोमा शतप्रतिशतले पुर्णरुपमा खोपहरु पाएको देखियो । वर्तमान अवस्थासम्म आइपुग्दा जिल्ला जनस्वास्थ्य कार्यालयको आ.व. २०७४।७५ को स्वास्थ्य व्यावस्थापन सूचना प्रणाली अनुसार स्वास्थ्य मन्त्रालयले प्रदान गरेको लक्षित जनसंख्या अनुसार विसीजि खोप कभरेज ७७ %, डिपीटी हेप , हिव ३ को कभरेज ७८ %, एम आर पहिलो मात्रा ७८ % र पिसिभि ७८% ले पाएको देखिएतापनि बागलुङ जिल्लाका कुनैपनि बालबालिकाहरु खोप पाउनबाट बञ्चित भएका छैनन भन्ने कुरा वडा तथा स्थानिय तहबाट समितिमा पेश भएको तथ्याङ्कले प्रमाणित गरेको छ।

नेपालको संविधान , राष्ट्रिय स्वास्थ्य नीति, राष्ट्रिय खोप ऐनहरुको भावना अनुरुप आधारभुत स्वास्थ्य सेवालाइ निशुल्क र जनउत्तरदायी बनाउदै सेवाको पहुँच विस्तार गर्नुपर्नेमा विशेष जोड दिइएको छ । आधारभुत स्वास्थ्य सेवा मध्यको पहिलो प्राथमिकतामा रहेको खोप सेवा जसको माध्ययमवाट बालवालिकाको शरिरमा प्रतिरक्षा प्रणालीको विकास गरी खोपजन्य रोग लाग्नबाट बचाउनु यसको प्रमुख उद्देश्य हो । खोप सेवाले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्ननै नदिनु वेश भन्न्ो भनाइलाई चरितार्थ गरेको छ ।

नेपालमा वि.सं. २०३४ सालमा महामारी रोग विफर उन्मुलन भए पश्चात् विस्तारीत खोप आयोजनाको नामबाट तत्कालीन ७५ वटै जिल्लामा व्यापकता पाएको यस खोप सेवाले आजको मितिसम्म आइपुग्दा समय सापेक्ष नितिगत सूधार, सेवाको विस्तार, मानविय तथा संस्थागत संरचनामा भएको स्तरोन्नती, खोप सेवाको सहज उपलव्धता र व्यापक उपभोगका कारणनै बालबालिकाको मृत्युदर र अपांगतामा उल्लेखनिय कमी आएको सर्वविदितै छ । हरेक बालबालिकाकोे जन्मसिद्ध अधिकारसंगै जोडिएको गुणस्तरीय खोप सेवा लक्षित वर्गसम्म पु¥याउनु हाम्रो जिम्मेवारी हो भने उपलव्ध सेवालाइ निरन्तर रुपमा उपभोग गर्नु समुदाय तथा अभिभावकको समेत दायित्व हो ।

यही खोपका माध्यमबाट अहिले हामी पोलियो उन्मूलनको प्रक्रियामा अगाडी बढीरहेका छौं भने दादुरा रुवेला र धनुष्टंकार रोगको निवारण र जापानिज इन्सेफलाईटिस जस्ता रोगहरु नियन्त्रणमा रहनुमा खोप सेवाको प्रभावकारीतालाइ सहजै आत्मासाथ गर्न सकिन्छ । हालसम्मका उपलव्धिलाइ संस्थागत गर्दै लक्षित बालबालिकाले तोकीएको अवधिभित्र सम्पुर्ण खोप सेवा प्राप्त गरुन भन्ने अभिप्रायले पुर्ण खोप सूनिश्चितता गर्ने अवधारण ल्याइएको हो । स्थानिय निकायको सकृय संलग्नता, सहयोग, समन्वय र अपनत्वको भावाना विकास गरी पूर्णखोप दिगोपनाको सुनिश्चितता तथा निरन्तरताका लागी पुर्ण खोप सूनिश्चितता निर्देशिका २०७१ अनुसार पुर्ण खोप दिगोपनाको लागि वडाहरु , स्थानिय तहहरु तथा सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई अभिप्रेरीत गर्नुको साथै यहाँहरुको सक्रीय सहयोग र सहभागीतामा यस अभियानलाइ सफल बनाउदै आज जिल्लालाई पुर्णखोप दिगोेपनाको सूनिश्चितताको अवस्था कायम रहेको व्यहोरा अनुरोध गर्दछु ।

आजको यस सभामा पूर्णखोप दिगोपना सुनिश्चितता प्रमाणिकरण ( घोषणा ) अभियानको स्थानिय तह स्तरीय साथै जिल्ला स्तरीय प्रतिवेदन समेत पेश गर्ने अनुमति चाहान्छु ।

स्थानिय तह लगायत सम्पूर्ण बागलुङ जिल्ला पुर्णखोप दिगोपनाको सूनिश्चितता प्रमाणिकरण (घोषणा) गरेको विवरण ।

१ बागलुङ नगरपालिका
२ गल्कोट नगरपालिका
३ जैमीनी नगरपालिका
४ ढोरपाटन नगरपालिका
५ बरेङ गाउँपालिका
६ काठेखोला गाउँपालिका
७ ताराखोला गाउँपालिका
८ बडिगाड गाउँपालिका
९ तमानखोला गाउँपालिका
१० निसिखोला गाउँपालिका
बागलुङ जिल्ला

पूर्णखोपको दिगोपनाका लागी वडा स्तरमा रहेका वडा खोप समन्वय समिति , स्थानिय तह स्तरीय खोप समन्वय समिति एंव जिल्ला खोप समन्वय समितिहरुले दिगोपनाका लागी कार्ययोजना समेत वनाइ प्रतिवद्धता व्यक्त भए बमोजिम पूर्णखोप सुनिश्चितताको अवस्थालाई निरन्तर कायम रहने व्यहोरा समेत प्रमुख अतिथि लगाएत यस सभामा उपस्थित सम्पुर्णमा विश्वास दिलाउदै पूर्णखोप सूनिश्चितता कार्यविधि निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रकृयाहरु पुरा गरी आजको यस सुअवसरमा सम्पूर्ण स्थानिय तहका साथै बागलुङ जिल्लालाई पूर्ण खोप दिगोपनाको सुनिश्चितता भएको प्रमाणिकरण ( घोषणा ) गरीदिनुहुन यस सभा समक्ष प्रस्ताव पेश गर्दछु ।

सदस्य सचिव
दिपक प्रसाद तिवारी
वरिष्ठ जनस्वास्थ्य प्रशासक
स्वास्थ्य कार्यालय बागलुङ ।

जिल्ला खोप समन्वय समितिको मिति २०७६।३।२५ बैठकवाट यस प्रतिवेदन पारित भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply