Sorry, that menu does not exist.
 

बागलुङमा घटेनन् आत्महत्या र जबरजस्ती करणीका घटना : गत आबमा आत्महत्या ४५ र जकका १९ घटना !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ साउन १० । बागलुङ जिल्लामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आउन सकेको छैन । विगत चार आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्दा आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि भएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार आव ०७२।०७३ मा आत्महत्या गर्नेको संख्या ३५ रहेको थियो भने आव ०७३।०७४ मा ४३ पुगेको थियो । त्यस्तै आब ०७४।०७५ मा आत्महत्या गर्नेको संख्या अघिल्ला वर्षहरु भन्दा केहि घटेको थियो अर्थात यस आर्थिक बर्षमा ३३ जनाले आत्महत्या गरेका थिए भने बिगत ०७५।०७६ आबमा आत्महत्या गर्नेको संख्या ४५ पुग्यो । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त आँकडा अनुसार बिगत चार आर्थिक वर्षमा बागलुङ जिल्लामा १ सय ५६ जनाले आत्महत्या गरेका छन् ।

कर्तव्य ज्यान र भवितव्य ज्यान सम्वन्धी घटनाहरुमा पनि ईजाफा भएको देखिन्छ । अघिल्लो आव ०७५।०७६ मा कर्तव्य ज्यानमा ५ र भवितव्य ज्यानमा ४५ मुद्दा जिल्ला प्रहरी कार्यालय बागलुङमा मुद्दा दर्ता भएका थिए । जबकि आब ०७२।०७३ मा कर्तव्य ज्यानमा ८ र भवितव्य ज्यानमा १६, आब ०७३।०७४ मा कर्तव्य ज्यानमा ६ र भवितव्य ज्यानमा १९ घटना घटेका थिए । यसैगरी आव ०७४।०७५ मा कर्तव्य ज्यान सम्वन्धी ८ र भवितव्य ज्यानमा १५ घटना प्रहरीमा दर्ता भए । यसरी विगत चार आवमा कर्तव्य र भवितव्य गरी जिल्लामा १ सय २२ जनाको ज्यान गुमेको छ ।

जिल्लामा चार आव भित्र ५६ जबरजस्ती करणीका घटनाहरु भएको देखिन्छ भने जबरजस्ती करणी उद्योगका २६ घटनाहरु प्रहरीमा दर्ता भएको देखिन्छ । अघिल्लो आब ०७५।०७६ मा जबरजस्ती करणीका १९ र जबरजस्ती करणी उद्योगका १३ मुद्दा प्रहरीमा दर्ता भएका थिए भने आब ०७२।०७३ मा जबरजस्ती करणीमा १५ र जक उद्योगमा ३, आब ०७३।०७४ जबरजस्ती करणीमा १२ र उद्योगमा ३ त्यसैगरी आव ०७४।०७५ मा जबरजस्ती करणीमा १० र उद्योगमा ७ घटनाहरु प्रहरीमा आएको देखिन्छ । बहुबिबाहका घटनाहरुमा भने आब ०७५।०७६मा ९ र अन्य ३ आबहरुमा जम्मा १० मुद्दा दर्ता भएको आँकडाले देखाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply