Sorry, that menu does not exist.
 

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रक्त सन्चार केन्द्रको आवश्यकता !
धन्य हुन् ती स्वास्थ्यकर्मीहरु. जस्ले आफ्नै रगत दिएर बिरामी बचाउदै आएका छन् !

सुमन सुनार, बुर्तिबाङ २०७६ साउन १४ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ स्थीत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य केन्द्रमा आएका बिरामीलाई उपचार मात्र होइन, रगत समेत दिएर उनिहरुको जीवन रक्षा गर्दै आएका छन् । जीवनका लागि महत्वपूर्ण हुने रक्तसञ्चार सेवा बुर्तिबाङमा नहुँदा रगत चाहिने सिकिस्त बिरामी र सुत्केरी तथा रगतको कमी भएर ज्यानै जानसक्ने अवस्थाका विरामीलाई उपचारमा संलग्न डाक्टर, स्वास्थ्य केन्द्रमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरुले आफै रगत दिएर बचाउँदै आएका छन् ।

तमानखोला गाउँपालिका बोंगादोभान स्थायी घर भई हाल ढोरपाटन नगरपालिका वडा नं. ४ हुन्द्रफेदीमा डेरा गरी बस्ने २९ वर्षिया राजकुमारी गिरी घरमा सुत्केरी हुन नसकेर सिरियस अवस्थार्मा गत साउन १ गते बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याए । स्वास्थ्य केन्द्रमा भर्ना भएकी गिरीलाई चिकित्सकहरुले प्रसुती गराउन सफल भए, तर प्रसूतीका क्रममा अत्याधिक रक्तश्राव भएपछि उनको शरीरमा तत्काल ‘ओ पोजेटिभ’ रगत चढाउनुपर्ने भयो । उनको उपचारमा संलग्न प्रसूति चिकित्सक डा. दिलिप कोजुले आफन्तलाई रगत खोज्न आग्रह गरे । गिरीका श्रीमान गोपाल गिरीले रक्तदाता खोजि गरेपनि ‘ओ पोजेटिभ’ रक्त समुह भएको रक्तदाता कोही नपाएपछि स्वास्थ्य केन्द्रका सिनियर अहेव तथा ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक ऋतुवर्ण पौडेलले रगत दिए । अन्ततः पौडेलले दिएको एक प्वाइण्ट रगतले गिरीको ज्यान बचाउन सफल भएको प्रसूति कार्यमा संलग्न डा. कोजुले बताए ।

सिनियर अहेव ऋतुवर्ण पौडेलले रक्तदान गर्दै ।

यस्तै निसीखोला गाउँपालिका भल्कोटकी, ३० वर्षिया नरमायाँ वि.क. गत असार १ गते घरमै सुत्केरी सुत्केरी भएको दिन देखि निरन्तर अत्याधिक रक्तश्राव हुनथाल्यो । लगातार ११ दिन सम्म भएको रक्तश्रावका कारण गत असार ११ गते उनी बेहोस भईन । उनलाई आफन्तले तत्काल उहाँलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गराए । प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुले परीक्षण गर्दा उनको शरीरमा रगतको मात्रा एकदमै कम भएको पाइएपछि तत्काल रगत दिएर हेमोग्लोबिनको मात्रा उकास्नुपर्ने भयो । चिकित्सकहरुले आफन्तलाई रगत खोज्न आग्रह गरे । तर विकलाई आवश्यक ‘ए पोजेटिभ’ रक्तसमुह भएका रक्तदाता कोही नपाएपछि स्वास्थ्य केन्द्रका अहेव रुमा श्रीसले रगत दिएर उनको ज्यान बचाईन् । अहेव श्रीरका कारण जीवनमरणको दोसाँधमा पुगेकी आफ्नी श्रीमतीले पुर्नजीवन पाएको विककी श्रीमान ३१ वर्षिय दिल बहादुर विकले बताए ।

उता तमानखोला गाउँपालिका वडा नं. ३ सेर्माखोला, तमानका ७६ वर्षिया भिमसरा बुढा मगरलाई बोनम्यारो सम्बन्धी समस्या छ, शरीरमा रगत उत्पादन हुँदैन । विगत ३ वर्ष यता उपचारत बुढाको शरीरमा प्रत्येक २ महिनामा ‘ए पोजेटिभ’ रगत चढाउनुपर्छ । प्रत्येक २ महिनामा आमालाई रगत चढाउनुपर्ने भएपछि आमाको ज्यान कसरी बचाउने भन्ने चिन्ता थियो, तर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर तथा अन्य रक्तदाताले रगत दिएर अहिले सम्म आमालाई बचाउन सकिएको छ, छोरा झक बहादुर बुढा भन्छन् । बुढाले भने आमालाई ६÷६ महिनामा ह्वाईट व्लड चढाउनुपर्छ, त्यसको लागि पोखरा, काठमाण्डौ लैजानुपर्ने भएपनि प्रत्येक २ महिनामा चढाईने रगत भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरहरुले दिने गरेको बताए । थप बोल्दै उनले एकै व्यक्तिलाई ३ वर्ष सम्म निरन्तर रगत चढाएर बचाउनु समान्य कुरा नभएको भन्दै प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव अशिष्टेन्ट किसान शाही सहित ‘ए पोजेटिभ’ रक्त समुह भएका अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरुले पटक÷पटक रगत दिएर आमालाई अहिले सम्म बचाईरहेको बताए ।

यी त केहि प्रतिनिधि पात्र र उदाहरण मात्र हुन् । एक बर्षयता मात्र प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले १८ जना बिरामीलाई रगत दिएर बचाएको स्वास्थ्य केन्द्रका ल्याव अशिष्टेन्ट किसान शाहीले बताए । ल्याव अशिष्टेन्ट शाहीका अनुसार स्वास्थ्य केन्द्रमा काम गरेको ११ वर्ष भयो, अहिले सम्म म आफैले ९ पटक रक्तदान गरेको छु । विरामीलाई आवश्यक रगत दिनका लागि स्वास्थ्यकर्मी आफै अग्रसर भएर व्यवस्थापन गर्दै आएपनि बिरामीको रक्तसमूह नमिल्दा भने अत्याधिक समस्या हुने गरेको उनले बताए । केहि मात्रामा भएपनि यो समस्या समाधानका निम्ती आफुले चिनेका आफन्त, स्थानिय केहि समाजसेवी, बुद्धिजिवीहरुको फोन नम्बर सहित उनिहरुको व्लड ग्रुप पनि राख्ने गरेको र आवश्यक परेको समयमा फोन गरेरै बोलाउने गरेको शाहीको भनाई छ । रक्तदान गर्दा स्वास्थ्य समस्या हुन्छ भन्ने भ्रम र चेतनाको अभावमा रक्तदान गर्न सजिलै कोही तयार नहुने शाहीले बताए ।

बुर्तिबाङमा आकस्मिक रक्तसञ्चार केन्द्र सञ्चालनमा नहुँदा आकस्मिक प्रुूति र अप्रेशन सेवा सञ्चालनमा निकै कठिनाई हुने गरेको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्णहरी श्रेष्ठले बताए । रक्तदाताबाट सिधै विरामीमा रगत दिने पद्धति आकस्मिक रक्तसञ्चार सेवा मात्रै स्वास्थ्य केन्द्रमा रहेको बताउँदै डा. श्रेष्ठले रक्तदानका लागि सबै सचेत भएर प्रेरित हुन सके बिरामीको ज्यान बचाउन सहज हुने बताए । डा. श्रेष्ठका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा हाल सम्म करिव १ सय ५० जना भन्दा बढी बिरामीलाई स्वास्थ्यकर्मी तथा स्थानिय रक्तदाताहरुले रक्तदान गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

5 Comments

Leave a Reply