सुजन प्रेमी, कुस्मीसेरा बागलुङ, २०७६ साउन १६ । जैमिनी संकीर्तन समुहले आयोजना गरेको लोकबाजा बाद्यबादन प्रशिक्षण तालिम बुधबार सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुस्मीसेरामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न बाजा सिक्नका लागि ३२ जनाको सहभागिता रहेको थियो । जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले साउन ५ गते उद्घाटन गर्नुभएको प्रशिक्षण कार्यक्रमको जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले बुधबार समापन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी रानाले जैमिनी संकीर्तन समुहले पुराएको योगदानको प्रशंसा गर्दै नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रदेश देखी जिल्लासम्म जैमिनी नगरपालिकाको नाम राखेको यस समुहका लागि जैमिनी नगरपालिकाले पनि बजेटमा सम्बोधन गरेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले समुहले नगरपालिका भरी नै यस्ताखालका तालिमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । तालिमका प्रशिक्षक सुर्य घतानेले संगीतमा त्याग गरे जीवन सार्थक हुने बताउँदै प्रशिक्षर्थीहरुको चाहना तिब्र भएकाले सिकाएको कुरा ब्यवहारमा लागु हुनेमा आफु आशावादी रहेको बताए ।
कार्यक्रमका सभापती तथा संस्थाका अध्यक्ष टेक बहादुर क्षेत्री संगमले पुर्खाको नासोलाई जोगाउनु हामी सबैको कर्तव्य भएकाले आफुहरु लागि परेको बताउदै अहिलेको युवापुस्ताहरुनै संस्कुती जगेर्ना गर्न लागि नपरे पर संस्कृतीले आफ्नो अस्तित्व नै लोप हुनसक्ने धारणा व्यक्त गरे । बिशेषगरी लोकबाजा भनेर सारंगी, मादल, बाँसुरी, हार्मोनियम र तबलालाई बुझिएपनि खँैजडी र मुजुरालाई पनि जोडिएको समुहका सचिव झपिन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।
जैमिनी संकीर्तन समुहले गण्डकी प्रदेश स्तरिय लोक भजन प्रतियोगितामा दोश्रो स्थान तथा जिल्लाभित्रका थुप्रै प्रतियोगितामा प्रथम स्थान हात पारिसकेको छ । जिल्लामै उत्कृष्ट भजन गाउने समुहको रुपमा परिचित संकीर्तन समुहलाई प्रवद्र्धन गर्न जैमिनी नगरपालिकाले नीति तथा कार्यक्रममा नै सम्बोधन गरी नगरले प्रस्तुत गरेको चालु आर्थिक बर्षको बजेटमा १० लाख रुपैयाँ संस्कृति प्रवद्र्धनका लागि छुट्याइएको छ ।
जैमिनी मेला, गाजाको दह, बैकुण्ठे चतुर्दशी मेला तथा यस समुहका लागि भनेर चालु आर्थिक बर्षका लागि बाँडफाँड गरिएको बजेटमा उल्लेख गरिएको नगर उप प्रमुख रानाको भनाई छ । लोक संस्कृती र जैमिनीको चिनारी भजनलाई जोगाइराख्न नगरपालिकाले साथ दिनुपर्ने र युवापुस्ताहरु समेत लागि पर्नुपर्ने समुहको धारणा छ ।