बागलुङ २०७६ साउन १९ । बागलुङ सदरमुकाममा क्रियाशील लायन्स क्लब तथा लियो क्लबहरुको संयुक्त आयोजनामा कालिका भगवती मन्दिरको जंगल भित्र वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रममा पारीजात, अशोका, तेजपत्ता, पिपल, लब्सी, बेल, लगायत उन्नत जातका फुलहरु गरी ९ प्रजातिका करिव २०० विरुवाहरु रोपिएको आयोजकले जानकारी दिएका छन् । वातावरणीय प्रदुषण बढीरहेको बेलामा वृक्षारोपण आफैमा प्रशसनीय कार्य हो ।
आयोजक संस्थाहरुले वनविज्ञहरुको राय सुझाव लिएर नै कालिका भगवती मन्दिरको जंगल भित्रको जग्गा वृक्षारोपणका लागी उपयुक्त ठहराएको हुन सक्छ । कुन जातका बोट बिरुवाहरु घनाजंगलको छाहारी मुनी रोप्नु राम्रो हुन्छ भन्ने बुझेर नै आयोजक संस्थाहरुले जिल्लाका विशिष्टजनहरुको समुपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हुनुपर्छ । बागलुङका ७ लायन्स र २ लियो क्लबहरुले, कहाँ टाढा जाने नजिकै कालिका भगवती मन्दिरको जंगल परिसर छँदैछनि… भनेर निश्चयपनि वृक्षारोपण कार्यक्रम राखेको होईन होला, कसो ? ।
प्रचारबाजीका लागी अस्पतालका विरामीलाई फलफुल वितरण गर्ने प्रचलन जस्तै कालिका भगवती मन्दिर बढारबुढुर र वृक्षारोपण गर्ने प्रचलन हो भने यसलाई रोक्नु पर्छ । कुनै व्यक्ति वा संघ संस्थाको प्रचार स्थलको रुपमा कालिका भगवती मन्दिरलाई प्रयोग गर्न दिनु हुन्न । कालिका भगवतीको लाखौँ आम्दानी आफ्नो बित्तिय संस्थामा ल्याएर राख्न चलखेल गर्नेहरुबाट व्यवस्थापन समिति चनाखो हुनु पर्छ । कालिका भगवती प्रतिको आस्था र विश्वासमा आँच आउन दिन हुन्न ।
कालिका भगवती मन्दिर वरपर रहेका विशालकाय सल्लाका रुख ।
कालिका भगवतीको मन्दिर रहेको जंगल ४ सय ८५ वर्ष पुरानो हो । पर्वतका राजा प्रताप (पी) नारायण मल्लले विस १५९१ मा पाल्पाका राजा मणि मुकुन्द सेनकी राजकुमारी बिबाह गरी ल्याउदा राजकुमारीले पाल्पा माझकी दैवीलाई पनि साथै लिएर आएको पर्वते राजाको वंशावलीमा उल्लेख छ । माझकी देवीलाई बांगेचौरको छेउ (टुप्पा)मा प्रतिष्ठापित गरी देवीको खड्ग समाती आउने चक्र पवारलाई पुजारी बनाई खड्गा उपाधी दिएर गुठ राखी पर्वतको राजधानी ढोल्ठान गएका थिए । तिनै पुजारी र उनका सन्तानहरुले देवीको मन्दिर वरपर साल, सल्ला र आँपका बोट विरुवा लगाएका हुन् ।
कालिका भगवती मन्दिर वरपर रहेका विशालकाय सल्लाका रुख ।
जंगलमा साल प्रजातिका रुखहरु प्रशस्तै रहेका छन् भने यसका पथराहरु प्रशस्तै उम्रिएका छन् । यिनको संरक्षण जरुरी छ । मन्दिर नजिकै सल्लाका विशालकाय रुखहरु रहेका छन् । केहि वर्ष पहिले कालिका भगवती मन्दिर दर्शनका लागी आएका एक वन विज्ञले साल र सल्लो प्रजातिका रुखहरु एकै ठाउमा देख्दा यो देवीकै कृपा भएको बताएका थिए । ती विज्ञले साल र सल्लो एकै ठाउमा बिरलै देख्न पाईने बताएका थिए ।
मन्दिर भित्र बेला बखत वृक्षारोपण गरिदै आएको छ । कालिका मन्दिरको पश्चिममा रुद्राक्षका बिरुवा रोपण गरिएको छ । केहि वर्ष पहिले जिल्ला कृषि बिकास कार्यालय बागलुङले कालिका भगवती मन्दिर जाने जंगल भित्र बाटोको दुबै किनारमा विभिन्न प्रजातिका विरुवाहरु लगाईएको थियो तर ती कुनै पनि विरुवा अहिले अस्तित्वमा छैनन् ।
यहाँको हावापानी माटो जल सबैको बिचार गरी बृक्षारोपण गरिनु आवश्यक छ । मन्दिर वरपर उभिएका ठुला सल्लाका बोटहरु बर्षै पिच्छै ढल्दै (बुढो हुँदै) गएका छन् । यिनलाई लोप हुनबाट जोगाउनु पर्छ । सल्लाका सिम्टा जम्मा गरेर वीउ जमाएर सल्ला लगाउन पहल गरिनु अहिलेको पहिलो आवश्यकता हो । सल्ला र सालका रुखहरुले नै कालिका भगवती मन्दिर जंगलको शोभा बढाएको छ । सालका पथराहरुको संरक्षण र सल्लाको विरुवा उत्पादन गरी रोपण गर्नेमा ध्यान दिनु जरुरी छ । कुनैपनि काम लहडमा नभई दूरगामी परिणामलाई मनन गरेर मात्र गरिनु राम्रो हुन्छ कि ?
4 Comments