राम सुवेदी, बागलुङ २०७६ साउन १९ । २०७६ साल मंसिर १४ गतेका लागि सरकारले उपनिर्वाचनको मिति तय गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा, विभिन्न तहकालागि एकै पटक मंसिर १४ गतेलाई उपनिर्वाचनको मिति तोकेको छ । १८ वटा दलहरुसंग छलफल गरेपछि आयोगले प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको हो ।
यसैबीच बागलुङको क्षेत्र नं. २ प्रदेश ख मा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेभएको छ भने बडीगाड गाउँपालिकाको वडा नं. २ मा वडा अध्यक्ष पदमा निर्वाचन हुने भएको छ । गण्डकी प्रदेश अन्तर्गत बागलुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती मगरको लिभर खरावीका कारण मृत्यु भएपछि रिक्त रहेको पदमा र बडीगाड गाउँपालिका वडा नं. २ का निर्वाचित वडा अध्यक्ष विष्णु प्रसाद भुसाल, जिल्ला समन्वय समिति बागलुङको उपप्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुने भएको हो ।
२०७४ मंसिर १० गते भएको संघ तथा प्रदेश सभाको निर्वाचनमा गण्डकी प्रदेशको प्रदेश ख बाट साझा बामगठबन्धनका उमेद्वार स्वर्गीय टेकबहादुर घर्ती मगरले, ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका जित बहादुर शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए । तत्कालीन अवस्थामा नेकपा एमाले, एकीकृत नेकपा माओवादीका रुपमा रहेका दुई दल अहिले एकीकरण पछि नेकपा भएको छ । केन्द्रिय तहबाट बाम तालमेलमा आएको राष्ट्रिय जनामोर्चा आफ्नो उमेदवार सहित निर्वाचनमा होमिदा, त्यसबेला कँग्रेसलाई ३ हजार २ सय ६० मतान्तर रहेको थियो । बाम गठबन्धनपछि जित हासिल गरेको बामपार्टीहरु फेरि के आधारमा एकता होलान वा एक्ला एक्लै निर्वाचनमा जाँदा कँग्रेस बलियो होला भन्ने विषयमा बजार तातेको छ ।
उता बडीगाड गाउँपालिकाको २ नं. वडा अध्यक्षमा नेकपा कै जनाधार बलियो भएका कारण उमेदवार कस्तो आउँछ भन्ने चर्चा मात्र छ । नेकपाकै पोल्टामा वडा अध्यक्ष रहेको नेकपाले दावी गरेको छ । यस्तै हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्य विहीन भएको छ भने प्रदेश ५ को दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली रहेको छ । त्यहाँपनि उपनिर्वाचन हुँदै छ ।
देशभरका स्थानीय तहमा चार जना प्रमुख, एक जना उपप्रमुख र ४१ जना वडा अध्यक्षको पद रिक्त छन । सबै गरि ५० स्थानमा उपनिर्वाचन हुने नेपाल सरकारका सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल वास्कोटाले जानाकारी दिए । ,