दिनेश सापकोटा, बागलुङ २०७६ साउन २० । नागरिक आवाज द्वारा सोमवार बागलुङमा आयोजित “न्यायको पर्खाई कहिले सम्म” बिषयक महिला शान्ति सम्बाद कार्यक्रममा बोल्दै बेनी नगरपालिका म्याग्दीका नगर प्रमुख हरिकुमार श्रेष्ठले द्वन्द्व पीडितका आवाजलाई स्थानीय तहले सम्बोधन गरेर अगाडी बढ्नुपर्ने बताए । उनले आगामी बर्षका बजेट बिनियोजन गर्दा द्वन्द्व पीडितहरुलाई लक्षित बर्गको रुपमा लिंदै बिभिन्न कार्यक्रम ल्याईने स्पष्ट पारे ।
द्वन्द्वपीडितका लागि केहि कामहरु गरिए पनि अपेक्षाकृत रुपमा सबैलाई संगठितरुपमा समेट्न नसकेको हुँदा आगामी दिनमा सबैलाई समेटेर कार्यक्रम ल्याउने कुस्मा नगरपालिका पर्वतका नगर उपप्रमुख सीता काफ्ले लामिछानेले बताईन भने ताराखोला गाउँपालिकाका उपाध्यक्ष डिलकुमारी पुनले एकल महिला, द्वन्द्व पिडीत महिला र आर्थिक हिसाबले कमजोर महिलाको लागी उपाध्यक्ष महिला उत्थान कार्यक्रम मार्फत आफ्नो गाउँपालिकामा समेट्ने प्रयास गरिएको जानकारी दिईन् ।
द्वन्द्व पीडितका समस्या समाधानका लागि श्रोत र साधनको कमी हुँदाहुँदै पनि बागलुङ नगरपालिकाले द्वन्द्व पीडित परिवारका विद्यार्थीहरुलाई छात्रावृत्ती कार्यक्रम संचालन गरेको बागलुङ नगरपालिका ५ का वडाध्यक्ष तथा न्यायीक समिति सदस्य शिव प्रसाद सापकोटाले बताए ।
धौलागिरीका तिन जिल्ला मध्ये बागलुङ, पर्वत र म्याग्दीका २० जना द्वन्द्व पीडितत परिवारका सदस्यको सहभागिता रहेको कार्यक्रममा गलकोटकी द्वन्द्व पिडीत छमकुमारी बस्नेत र म्याग्दीकी देवीकुमारी केसीले आफुहरुका समस्या र गुनासा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको राष्ट्रिय सन्जालका केन्द्रिय सदस्य सुरेन्द्र केसी, मंगला गाउँपालिका म्याग्दीका उपाध्यक्ष सिर्जना केसी, जलजला गाउँपालिका पर्वतका उपाध्यक्ष सीमा पुन, नागरिकसमाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठ, अधिवक्ता राम शर्मा, नागरिक आवाजका कार्यक्रम व्यवस्थापक हरि धामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम द्वन्द्व पीडित परिवारका सदस्य जसोदा शर्माको अध्यक्षता, कुस्मा नगरपालिका १३ का द्वन्द्व पीडित कल्पना सुवेदीको स्वागत मन्तव्य र सावित्री खड्काको संचालनमा सम्पन्न भएको थियो ।
महिला शान्ती सम्वाद कार्यक्रम बागलुङ जिल्लाबाट शुरु भई गण्डकी प्रदेशका सबै जिल्ला हुँदै देशैभरी संचालन गरिने आयोजक नागरीक आवाजले जनाएको छ ।