थम्मन थापा, बागलुङ २०७६ साउन २९ । पछिल्लो समय जापानमा धेरै गल्कोटेहरु वैदेशिक रोजगारीको रुपमा कार्यरत छन । त्यहाॅ रहेका गल्कोटबासीको हक, हित अधिकार सॅगै समृद्व गल्कोट निर्माणमा संस्थागत रुपमा उनीहरु सकृय रहॅदै आएका छन । यसै सिलसिलामा गल्कोट समाज जापानले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको छ । यस संस्था जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु मध्यकै अग्रणी संस्थाको रुपमा सन २००६ देखि जापानमा कृयाशील रहॅदै आएको छ । संस्थाले स्थापनाकाल देखि नै गल्कोटमा हुने मेला महोत्सव देखि आपत विपत अनि सामाजिक क्षेत्रमा आर्थिक नैतिक भौतिक सहयोग गर्दै आईरहेको छ ।
यस वर्ष हरितालिका तीजको अवसरमा आयोजित तीज कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु खुमन अधिकारी, कला लम्साल, देव साहनी र कुसुम बुढाथोकी जापानमा पुगी आफनो सांगीतिक प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन । सो अवसरमा जापानमा रहेर सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
संस्थाले प्रत्येक वर्ष तीज पर्वमा कार्यक्रम गर्दै आईरहेको छ । यस वर्ष तीज कार्यक्रम जापानको राजधानी शहर टोकियो नाकानो स्थित जेरो हलमा सेप्टेम्बर २ तारिक दिउॅसो ४ बजे बाट प्रारम्भ हुने कार्यक्रम संयोजक महेन्द्र साहनीले जानकारी दिए । जापानमा हिजो आज दर्जनौं संघ संस्थाले तीज कार्यक्रम गर्दै आईरहेका छन । गल्कोट समाज जापानले विगत २००६ देखि नै विभिन्न खाले तीज कार्यक्रम गर्दै आईरहेको संयोजक साहानीले बताए । सात समुन्द्र पारी विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईलाई विभिन्न चाड पर्वहरुमा प्रदेशमा रहेको महसूस नगराई एक अर्कामा भेटघाट तथा दुखसुख साट्ने अवसर मिल्नुका साथै कार्यक्रमबाट दर्शकले मनोरञ्जन लिनेछन ।
कार्यक्रममा संकलित रकम सामाजिक कार्यमा खर्च गरिने समाजले जनाएको छ । कार्यक्रममा सह-आयोजकको रुपमा गल्कोट स्पोर्ट्स क्लव टोकियो रहेको छ । मेला अवधिभर जापानमा रहेका सम्पुर्ण दिदीबहिनी तथा दाजु भाईलाई कार्यक्रममा सहभागी भई मेला सफल पार्न अपिल गरेको छ ।