बागलुङ २०७६ साउन ३० । श्रावण शुक्ल पूर्णिमालाई हिन्दुहरुले एक पवित्र दिन, धार्मिक एवं साँस्कृतिक पर्वको रुपमा मनाउदै आएका छन् । यस दिनलाई जनैपूर्णिमा, रक्षा वन्धन, ऋषितर्पणी आदि नामले पुकारिन्छ । आजकै दिन नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरिन्छ ।
तागाधारीहरु आज नयाँ जनै फेर्छन (लगाउने गर्छन्) र वर्ष भरीलाई आवश्यक पर्ने जनै ब्राह्मणबाट मन्त्राएर राख्ने गर्छन् भने हातमा पवित्र रक्षाबन्धन (स्थानीय बोलिचालीमा ताव) बाँध्ने गर्छन् । रक्षाबन्धन (रक्षासूत्र) बाँध्नाले सबै प्रकारबाट सुरक्षित भईने मान्यता रहेको छ ।
ब्राह्मणहरूले यजमानहरू लाई रक्षाबन्धन बाँधी रहँदा, ‘येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल’भन्ने शुभ मन्त्र उच्चारण गर्ने गर्छन् । जस्को अर्थ हुन्छ, जुन रक्षासूत्रले अत्यन्तवलशाली राजा वलि बाँधिए पछि सारा देवगण सुरक्षित भए,म त्यही रक्षासूत्रले बाँधी तिमीलाई सुरक्षित गर्दछु ।’
श्रावण शुक्ल पूर्णिमको पावन दिनमा देवता, सप्तऋषि तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीको नामले पनि पुकारिन्छ । आज जनै पूर्णिमाका दिन बाँधिएको रक्षा बन्धन तिहारको गाईपूजाका दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन रहिआएको छ ।
तर छिमेकी देश भारतमा रक्षा बन्धन मनाउने प्रचलन भिन्न छ । भारतमा आज दिदीबहिनीहरुले दाजुभाईलाई रक्षा बन्धन कलात्मक धागो राखी बाँधी दाजुभाईहरुबाट आफ्नो रक्षाको वचन लिने गर्छर्न यस पर्वलाई भारतमा राखी भनि पुकारिन्छ । यो फेशन नेपालमा पनि भित्रिएको छ ।
जनैपूर्णिमाको पवित्र दिनमा बागलुङ जिल्लाको ढोरपाटन स्थित बराह मन्दिरमा यस क्षत्रकै बिशाल मेला लाग्छ । बराह मन्दिरमा पूजार्चना गर्न हिँजै देखी श्रद्धालुहरु ढोरपाटनमा पुगेका छन् । पछिल्लो समय मोटरबाटो बुर्तिवाङ हुँदै ढोरपाटन पुगेपछी श्रद्धालुहरुको संख्यामा निकै बृद्धि भएको छ ।
ढोर बराह भगवानको नममा भाकल गरेमा मनोकामना पूर्णहुने विश्वास र मान्यताका कारण त्याहाँ भेँडाको साँड बलि दिने चलन रहेको छ । आज ढोर बराह मन्दिरमा सयौँ भेँडाको बलि दिईन्छ । आजै ढोरपाटन स्थानीय क्लबहरुले विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गर्ने गर्छन् । ढोरबराह मन्दिरमा जनैपूर्णिमा या रक्षा बन्धन जस्तै बैशाखमा पर्ने चण्डिपूर्णिमाका दिन पनि बराह भगवानको पूजार्चना गर्ने गरिन्छ ।