Sorry, that menu does not exist.
 

आजको तस्वीर : ढोरबराह मन्दिरमा श्रद्धालु भक्तको भीड !

शव्द/चित्र : किरण आचार्य,

ढोरपाटन २०७६ साउन ३० । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-९ रमणीय ढोरपाटनमा अवस्थित प्रशिद्ध ढोरबराह मन्दिरमा आज श्रावण शुक्ल पूर्णिमाको पावन अवसरमा लाग्ने मेलामा पूजाअर्चना गरी मनोकांक्षा पूरागर्न हिँजो देखिनै श्रद्धालुहरु ढोरपाटन पुगेका छन् ।

ढोरबराहमा भाकल गरेमा मनले चिताएको पुग्ने विश्वास र आस्थाका साथ आज विहान सबेरै देखी श्रद्धालुहरुको भीड लागेको छ । पवित्र उत्तरगंगाको आडमै अवस्थित ढोरबराह मन्दिरमा श्रद्धालु भक्तहरु विभिन्न मनोकांक्षाहरु लिएर पूजा अर्चना गरिरहेका छन् । तस्वीरमा देखिए जस्तै मन्दिरभित्र पाईला टेक्नै नसकिने गरी श्रद्धालुहरु खचाखच भरिएका छन् ।

पवित्र उत्तरगंगामा जलस्नान गरी प्रशिद्ध ढोरबराह भगवानको पूजा गर्न भेँडाको साँड लिएर आउने भक्तहरुमा मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । रोगव्याधबाट मुक्ति, पुत्रप्राप्तिको कामना, झै झगडा मुद्दामामिला जित्ने देखी बिबाह, रोजगारी लगायत विभिन्न अभिलाषा पूरा गर्न हजारौँ श्रद्धालुहरु यतिबेला ढोरपाटन स्थित ढोरबराह मन्दिरमा भेला भएका छन् ।

ढोरपाटन स्थित ढोरबराहमा पूजादिका लागी बागलुङ, म्याग्दी, प्यूठान, रुकुम, गुल्मी, पर्वत, पाल्पा, अर्घाखाँची, पोखरा काठमाडौ देखी श्रद्धालुहरु आउने गर्छन् । मध्यपहाडी लोकमार्गको निर्माण पछी ढोरबराह मन्दिरमा पूजाअर्चना गर्न आउने श्रद्धालुभक्तहरुका संख्यामा उल्लेख्य बृद्धि भएको छ ।

यसै मेलाका अवसरमा विभिन्न खेलकूद प्रतियोगिताहरुको आयोजना गरिने भएकाले यो मेला खेलाडीहरुका लागिपनि आकर्षणको केन्द्र बनेको छ भने मुलुककै एकमात्र ढोरपाटन शिकार आरक्ष रहेकाले र यहाँ अति रमणीय प्राकृतिक सौन्दर्यको दृश्यावलोनका लागी समेत आन्तरिक एवं बाह्य पर्यटकहरुको ताँती लाग्ने हुनोल ढोरबराहको प्रशिद्धी व्यापक बनेको छ ।

ढोरबराह मन्दिरमा लाग्ने जनैपूर्णिमा मेलामा लगभग एक हजार भन्दा बढी भेँडाहरु बलि दिईन्छ । यस बाहेक चण्डि पूर्णिमामा पनि ढोरबराह स्थानमा पूजा अर्चना सहित भेँडाको बलि चढाईन्छ । जनैपूर्णिमाको तुलनामा चण्डिपूर्णिमा कम नै भेँडाको बलि चढ्ने गरेको स्थानीयको भनाई छ ।

बुर्तिवाङ देखी ढोरपाटन सम्म वर्षायाममा पनि मोटरबाटो सन्चालनमा आउन सके श्रद्धालु एवं आन्तरिक एवं बाह्य पर्यटकहरुलाई निकै सुविधा पुग्ने ढोरबासीको भनाई छ । यति बेला बुर्तिवाङ देखी ढोर सम्म सवारी साधनहरु सन्चालनमा नहुँदा यात्रुहरुलाई सास्तीपूर्वक ढोरपाटन पुग्नु पर्ने बाध्यता छ ।

ढोरपाटनबाट किरण आचार्यको रिपोर्ट ।

लेखक ईबागलुङका फोटो सम्पादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply