Sorry, that menu does not exist.
 

मौनताको आवाज

कृष्ण कुमारी वास्तोला

विपनामा जीवन्त रहिरहनेहरुमा धेरथोर सपनाका लहरहरु हुन्छन् । कति यथार्थपरक हुन्छन्, कति यथार्थपरक भएर पनि दबिएका दवाइएका हुन्छन् । मान्छेका हेराई ,बुझाई र भोगाईहरु व्यक्ति अनुसार फरक प्रकृतिका पनि हुन्छन् । हर मान्छे आफ्नै दृष्टिबाट अरुमाथि दृष्टिकोण बनाएर अरुको एकोहोरो मूल्याङ्कन गर्छन । यो सहि वोधत्व नहोला । सामाजिक विविधता सगै मानिसहरुको सोंच, व्यवहारमा हुने बिबिधताले पक्कै पनि कुनैै मानव चोलालाई स्थिर अवस्थामा राख्दैन । स्वभावतः रुपले एकथरी मानिस सहनशील एवम् मौनतामा रुमलिएका हुन्छन् भने, अर्कोथरी मानिस प्रतिक्रिया दिन सिपालु हुन्छन् । प्रतिक्रिया दिन सक्नेहरुको आवाज सधै एकैनासको होला तर मौनतामा आफ्नै कथा, मनन गर्ने र बौद्धिकताको भावमा दभिएको विम्व लुकाउनेहरुको आवाज जब निस्कन्छ नि तब त्यहाँ असह्य र असहजता पैदा हुनेछ । त्यो क्षण एक हिसावले अत्यन्त भयङ्कर पनि हुने छ । मानौ एटम बमको आवाज त्यसमा गौण हुनसक्छ ।

जन्मने, हुर्कने प्रक्रिया सँगै हरेक मान्छे, आफ्नै प्रकारले वातावरणमा घुलमेल गर्दे आएको हुन्छ । आफ्नो स्वतन्त्रताको प्रतिकुलतामा पनि शालिनताको भावमा जीवन जिउने मान्छेहरु उनीहरुको नीजी स्वभावलाई आर्जित गर्न सामाथ्र्य जुटाएकोे हुन्छ । व्यक्तिको आफ्नो क्षमता कुन कुरामा ढाल्दै गयो भन्ने कुराले उसको सामाजिक, शारीरिक र मानसिक खुबीलाई जनाउदै जाला । केही मान्छेहरु स्वभाविक रुपमा तडक भडक गर्ने खालका र बोली बचनको प्रभावमा स्वभाव देखाउँछन् । कोही मान्छे, शालिनताले प्रतिभावान हुन्छन् । उनीहरु शालिनताबाटै समस्याको समाधान खोज्छन् । दृश्य भित्रका कतिपय अदृश्य वास्तविकता बाहिर रहेर पनि व्यवहारमा परिपक्क हुन्छन् । वास्तविकताको दृढ धारमा अडिएका हुन्छन् । परिदृश्यले देखाएको भन्दा फरक देखिनु, मौनताको कमजोरी मान्नु केही मान्छेका लागि गतिलो जस्तो देखिएला तर सत्य र असत्यमा हार जीतको व्दन्व्द हुन्छ भन्ने जस्ले जान्दैन त्यसले मौनताको विम्व जान्दैन । हरेक मान्छेलाई आफ्नो जीवनमा उत्कृष्टता, सक्षमता र दक्षता वृद्धिविकासको अधिकार हुन्छ । आफ्नो जीवनकालमा स्वभावजन्य अवस्थाले क्षमता आझेलमा पारेको पक्कै हुँदैन । तर केही चञ्चल स्वभावका मान्छेहरुमा शालिनताको अभ्यास नभएरै हुनसक्छ, स्वीकार गर्ने क्षमता अलि कम हुँदो रहेछ । असफलता नै सफलताको कडी मान्नेहरु सधै सत्यताका अधिकारवाला हुन्छन् । अभ्यासले उत्कृष्टता जन्माउछ । उत्कृष्टताको लालसले संसार जित्ने परिकल्पना जन्मन्छ । मानौ. एक दिन त्यो परिकल्पना साकार भयो भने, चञ्चल मान्छेहरु नै त्यसको अधिक सिकार भएका हुन्छन् । शालिनतामा हुर्किएका मान्छेहरु भावनामा त्यत्ति साह्रो उव्देलित हुँदैनन् । क्रिया प्रतिक्रिया, सजिला असजिला, सफलता असफलता सबै दुई सिक्काका पाटा हुन भनेर बुझने गहिरो बोध जानेका हुन्छन् । यो सबैमा हुनुपर्दछ । मान्छेहरु कति छिटो विश्लेषण गरिदिन्छन् । मान्छे मौन बस्यो भने कस्तो लाटो होला । विचरा ! कति भोला होला । यस्तै कुराले प्याच्च प्याच्च बोलिदिन्छन् । कसैको परिकल्पनामा अबोध देखिनु तिरस्कारका खातिर मौनता होईन होला बुद्धका उपदेश पढ्दै गर्दा ज्ञानी बन्नुपर्ने रहेछ, कर्म गर्नुपर्ने रहेछ जान्नेलाई थाहा छ तर ज्ञानको बोध हुनु पनि मौनताको प्रतिविम्व हो भन्ने नयाँ ज्ञान नपाएपछि ज्ञान पाउनुको अर्थले आफैलाई प्रश्न गर्दो रहेछ । एकछिनको उपदेश र अर्तिले मान्छेलाई भगवान हुँ जस्तो लाग्न सक्छ तर त्यो हलुका बुझाई होला । बुझाइको गम्भिरता, शालीनतामा मात्र हुन्छ ।

बुद्ध जस्तो त मान्छे अव बन्न नसक्ला तर बुद्धत्वको अपमान गर्न पनि त नसुहाउने हाला । आफ्नो स्वाभिमानका हरक्षण अस्तित्वको परीक्षा भइरहन्छ । त्यो स्वभावजन्य हुनुपर्दछ । अस्पताल जाँदा आफूलाई डाक्टर हुनुपाए भन्ने लाग्नु, कलाकारको गीत सुनेर आफुलाई त्यस्तो हुनुपाए भन्ने आकाँक्षा जाग्नु, वकिल, पत्रकार शिक्षक, इन्जिनियर, वा देशका ठूला ठूला मान्छेहरु देख्ता आफूलाई पनि त्यस्तै हुन पाए हुन्थ्यो भन्ने सोंच वा चिन्तन मनन हुनु क्रियाशील जीवनको औचित्य बोध हो तर हुनका लागि त्यस तर्फको रुची, क्रियाशीलता, अभ्यास र त्यसको परिणाम पनि त हासिल गर्न सक्नुपर्दछ । त्यो सबै सम्भव छ भन्ने मान्यता मौनताको बोधले सिकाउँछ । कोही त्यस्तो देखिएको छैन दुनियाँमा ठूलो मान्छे भएर गलत काम गर्न पाईन्छ भन्ने । कस्लाई लाग्या होला यो देशको मन्त्री हुन, ईञ्जिनियर, हाकिम वा उपल्लो ओहोदामा पुग्न पाए म भ्रष्ट्रचार गर्न पाउँथें । खै यो सोंच र चिन्तनले मान्छे ठूलो भएको होईन जस्तो लाग्छ तर अपवादमा जे देखिएको छ त्यो असत्य जस्तो उत्रिदै गएको छ । जस्ले जे गर्दैन भन्यो उसले नसोंचेको गरिरहेको हुन्छ । देशका ठूला मान्छेहरु नै गलत काम र प्रवृत्तिका सिकार भएर उभिएका देखिन्छन् । साना मान्छेहरु उनीहरुको यो रुग्ण परिदृश्यलाई मौनताको अन्तरकुन्तरबाट बोध गरिरहेकै हुन्छन् । यी साना हुन यिनलाई सजिलै ठग्न सकिन्छ, भुलाउन सकिन्छ, ओहोदा सानो हुँदैमा वा आवश्यकताले चुप बस्दैमा सबै असत्यहरु सत्य बन्दैनन् । सत्यमन हुन केही बोधगम्य विषयहरु पक्कै छन् ।

आज पावर, प्रेस्टिज र प्रोपर्टी यी तीनवटा कुरा हुन सकेन भने मानिस दबिन्छ , निसासिन्छ । कसैमा यस्तो पनि मानसिकता छ । हो जस्तो पनि लाग्छ । होईन भन्नेहरु आदर्श मान्छे बन्दैनन् त्यो पनि थाहा छ तर एकदिन पावर पनि डिस्करेज हुनुपर्दछ । गलत बाटोबाट अपनाइएको प्रेस्टिजमा जस्तापातामा झै एकदिन रातो धब्बा बस्छ बस्छ । अनी, असत्य मार्गबाट अठ्याइएको प्रोपर्टिज, अर्को असत्यीहरुले प्रयोगमा ल्याउँछन् । हो त्यसदिन ति चलाख भनिएका र मानिएकाहरु उही स्वभावले कराउने चिच्च्याउने हुन । सतमार्गका मान्छेहरु जस्लाई अबोध, विचरा ! टिठलाग्दा देखिएका छन् । एकनासले मौनताका मीठा मुस्कुराहटहरु छन उनीहरुलाई रोइकराई गर्नुपर्नेछैन । मौनतामा यति पावर अवश्य छ, हुन्छ । कोही कानुन नियम दुरुपयोग गर्न माहिर भई असललाई सजाय दिन माहिर हुन्छन् । कोहि खराबलाई सुधार्ने चक्करमा सजाय दिन सकिनी बाटोलाई पनि पाखा लगाई दिने गर्छन । मानसिक ,सामाजिक र शारीरिक हिंसाहरु आपूmलाई अरुले गरेमा मात्र हिंसा हुने ,अरुलाई आपूmले गरे मनोरञ्जन हुने या भनौ हिंसाको रुपमा स्वीकार गर्न नसक्ने आत्मबोधले न्याय अनि सत्कर्मको बाटोमा काडाँ बिछ्याउनु बाहेकको के नै विकल्प होला र ?

आज लाग्छ, समय सन्दर्भले, आफ्नो कठिन भन्दा कठिन मेहनेत र परिश्रमले सानोलाई ठूलो बनाउँने छ । असल कहलाउने छ । ज्ञानी र स्वाभिमानी भइने छ । खराब संस्कारको आडम्बरी हुनुभन्दा असल संस्कारको दासी हुनुमा असहजता हुनेछैन । स्वतन्त्रताको पैरवी, स्वाबलम्बीहरुले नै गर्ने हो । लोभ लालच र हिनताबोध, जीवनका असामान्य पक्ष हुन् । असत्य जीवन शालिन मान्छेहरुका लागि बेग्लै पाटो र बाटो हो । कर्मशील, क्रियाशील र सही विचारकहरु देख्ता नजाने जस्तो लाग्न सक्ला तर उनीहरु जीवन र जगतलाई बडो बुद्धिमताका साथ अध्ययन गरिरहेका हुन्छन् । त्यसकारण मलाई मौनताको आवाज प्यारो लाग्छ तर आम मान्छेहरु, त्यसलाई उछृङ्खलताको पैतलामुनि कुल्चने कुचेष्टा गर्दछन् । उज्यालैमा अध्यारो बनाएर सत्य निभाउँदै हिंड्छन् । देखाउँदा क्या बफादार, इमान्दार र कर्तव्यनिष्ट जस्ता लाग्छन् । व्यवहारत निरमोही र निरंकुश अपराध मानसिकताका ढोंगी हुन्छन् । उनीहरुलाई मौनताले मात्र पढ्न सक्छ ।

लेखक :
रोजगार संयोजक, तमानखोला गाउँपालिका, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply