Sorry, that menu does not exist.
 

चाचलाघाट लघुजलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई : ६० किलोवाट विद्युत खपत भएन !

कमल पौडेल, बडीगाड २०७६ भदौ ११ । चाचलाघाट लघुजलविद्युत आयोजना बडीगाड गाउँपालिका ४ जलजलाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष प्रेम गलामीले आफ्नो गाउँको विकास आफै गर्न तत्पर हुनुपर्ने भन्दै जनताको साथ र लगानीवाट जलजलामा विद्युत बाल्न सफल भएको बताए । उनले भने, राज्यको मात्रै मुख ताकेको भए जलजलामा अझै अँध्यारो हुने थियो, सवै जलजलाबासीको जुटाई र परिश्रमको फल चाचलघाट हो’ ।

कार्यक्रममा बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रका बागलुङ संयोजक कृष्ण गौतमले स्थानिय उपभोक्ताको प्रशंसा गरेका थिए ।

कार्यक्रममा आयोजनाको ६४ लाख ६ हजार ७ सय ८० रुपैया बरावरको आम्दानी तथा ४४ लाख ७८ हजार ३ सय १ बरावरको खर्च विवरण पेश गरिएको थियो । कार्यक्रममा स्थानिय विद्यालयका प्रधानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरुको सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रम आयोजनाका अध्यक्ष मानसिंह पाइजाको अध्यक्षता तथा सचिव झविन्द्र बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो।

वि.सं. २०६८ सालमा सम्पन्न सो १ किलोवाट क्षमताको विद्युत परियोजना बाट साविक जलजला, रणसिंह किटेनी र ग्वालीचौर गाविसको सिमाक सम्मका ९ सय घर परिवार लाभान्भित भएका छन् । जलजलाकी छविकला काउचाले भनिन्, पहिले निकै कष्टकर जिन्दगी विताइयो, अहिले त आनन्द छ’ । छविकलाले भने जस्तै विद्युत संगै जलजलाको मुहार साँच्चीकै फेरिएको छ । विद्युत संगै सवै विद्यालयमा कम्प्यूटर पुगेको झविन्द्र बुढाथोकीले बताए । विद्युतकै कारण स्थानियले गाउँमै कुटानी पिसानी मिल चलाएका छन् भने लोकता उद्योग पनि सञ्चालनमा रहेको छ । बागलुङ मै परिचित रणसिंहको ढुंगा खानीबाट हाल टायल तयार गरि निकालिएको छ । विद्युत परियोजनामा स्थानिय ७ जनाले रोजगारी समेत पाएका छन् ।

सो विद्युत उपयोग गरेवापत प्रत्येक घरले १५ युनिट सम्म विद्युत खपत गरेबापत सय रुपैया तिर्ने गर्दछन् । सो भन्दा वढि युनिटको प्रतियुनिट १० रुपैयाका दरले महसुल उठाइएको झविन्द्र वुढाथोकीले जानकारी दिए । गाउँघरमा ९ सय घरले विद्युत उपयोग गरेपनि झण्डै ६० किलोवाट विद्युत वढि भएको छ । सचिव वुढाथोकीले भने, साँझमा ४५÷५० किलोवाट खपत हुन्छ, दिउसोमा त ४० किलोवाट पनि हुँदैन’, गाउँपालिका भित्रका अन्य स्थानमा विद्युत पर्याप्त नभएपनि जलजलामा झण्डै ६० किलोवाट विद्युत खेर गैरहेको छ । स्थानीयले झण्डै ३ करोड लगानी गरेर उत्पादित विद्युत पूर्ण खपत नहुँदा परियोजना नाफामा जान नसकेको बताएका छन्। भेलाबाट सो परियोजनालाई सहकारीमा लैजाने सहमति गरिएको र आवश्यक प्रक्रिया अगाडि वढाइएको चाचलाघाट लघु जलविद्युत परियोजनाले जनाएको छ।

गत वर्ष केन्द्रिय लाइन विस्तारको लागि भन्दै मध्यपहाडी लोकमार्ग क्षेत्रमा विद्युत पोल र तार टाँगिएपनि हाल सम्म बडीगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा केन्द्रिय विद्युत पुग्न सकेको छैन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply