कोपिला कंडेल, बागलुङ २०७६ भदौ १४ । भाषा कला र साहित्य मार्फत समाजमा योगदान पुर्याएका ४ जना श्रष्टालाई बागलुङमा सम्मान गरिएको छ ।
१ सय ५४ औ मोती जयन्तीको अवसर पारेर धौलागिरि साहित्य प्रतिष्ठान बागलुङ, सार्थक प्रकाशन, धवल कला मन्दिर र स्मृती प्रकाशन बागलुङको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न विधामा ४ जनालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा मोती सार्थक सम्मानबाट मुस्ताङको घरपझोङ गाउँपालिका–१ जोमसोमका भीम रसाईली, धवलकला सम्मानबाट बागलुङका ठाकुरजंग राजभण्डारी र मछिन्द्र शाक्य त्यसैगरी स्मृति युवा सम्मान बागलुङबाट गल्कोट नगरपालिका–३ काँडेबासका हरि चालिसे रहेका छन् ।
सम्मानित सबैलाई धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख डा. राम प्रसाद उपाध्याय र धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख डा. उपाध्यायले भाषा कला र साहित्यको जगेर्ना गर्नका लागि धौलागिरी साहित्य प्रतिष्ठानले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका थिए ।
बागलुङ लगायत साविक धौलागिरीमा बिभिन्न कला र संस्कृतिको प्रचुर सम्भावना रहेको भन्दै क्याम्पस प्रमुख उपाध्यायले जातिय संस्कृति र कलाको संरक्षण गर्नुपर्नेमा जोड दिए । सम्मानित व्यक्तिहरुको बारेमा गोविन्द सुवेदीले जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, सल्लाहकार कोपिला कँडेल, सम्मानित व्यक्ति ठाकुरजंग राजभण्डारी, हरि चालिसे, भीम रसाईली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता बिद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष राम प्रसाद शर्माको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको सञ्चालनमा सम्पन्न भएको थियो ।