Sorry, that menu does not exist.
 

फलेवासका सबै वडामा विकास संवाद : समृद्ध फलेवास, खुसी फलेवासी बनाउने नगरप्रमुखको उद्घोष !

लक्ष्मण बिश्वकर्मा, फलेवास पर्वत २०७६ भदौ १५ । पर्वतको फलेवास नगरपालिकाले नगरका सबै वडाहरुमा विकास संवाद कार्यक्रम संचालन गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७५।०७६ मा संचालन गरेका विकास निर्माण कार्यको प्रभावकारीता र चालु आर्थिक बर्षमा संचालन गरिने कार्यक्रमहरुको बारेमा जनताहरुमाझ जानकारी गराउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सुशासन र पारदर्शितालाई जोड दिदै नगरबासी नागरिकहरुप्रति उत्तरदायी र जवाफदेहि बन्नको लागि नगरका ११ वटै वडाहरुमा विकास संवाद कार्यक्रम सम्पन्न गरिएको नगर प्रमुख पदमपाणी शर्माले जानकारी दिए । विकास संवाद कार्यक्रममा सबै वडाबाट नागरिकको सुझाव सल्लाह जिज्ञासा संकलन भएको र आगामी दिनहरूमा संचालन गरिने कार्यहरुलाई अझै पनि दिगो, पारदर्शी र प्रभावकारी बनाउन पृष्ठपोषण भएको उनले बताए ।

नगरबासीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिद्युत, सिचाइ, रोजगार, कृषि, पर्यटन लगाएतका बिषयहरुमा जिज्ञासा, प्रश्न तथा सुझावहरु राखेका थिए ।

नगर प्रमुख शर्माले जिज्ञासा तथा प्रश्नहरुको सम्बोधन गर्दै नागरिकका आधारभूत आवश्यकताहरुमा गम्भीर रहेको बताए । उनले नगरबासीको चाहना र आवश्यकता अनुसारका कार्यक्रमहरु संचालन गर्दै नगरलाई समृद्धि बनाउनको लागि प्रयासरत रहेको खुलासा गरे । नगरले सबै वडाहरुमा आवश्यकता, औचित्य र प्राथमिकताका आधारमा समानुपातिक ढंगबाट विकासका कार्यहरू संचालन गरेको उनले स्पष्ट पारे ।

नगरपालिकाले कृषि,पर्यटन, पुर्वधार र रोजगारबाट नगरको समृद्धको आधार तयार पारेको बताउदै समृद्ध फलेवास निर्माणको लागि सबै पक्षसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने उनको भनाई छ ।

सबैको सुझाव सल्लाहहरुलाई आत्मसात गर्दै आगामी दिनहरूमा सोही अनुसार योजना बनाएर समृद्ध फलेवास खुसी फलेवासी बनाउने प्रयासमा जोड दिएको नगर प्रमुख शर्माले बताए ।

सबै वडा कार्यालयहरुमा संचालन भएको कार्यक्रममा सेवाप्रदायक निकाय र सेवाग्राहीहरुले हाकाहाकी रुपमा सवाल जवास गरेका थिए । नगरपालिकाको आयोजना र अहिंसावादी रेडियो पर्वतको सहजीकरणमा यही भदौ ९ गते वडा नं. ८ बाट संचालन भएको उक्त कार्यक्रम शनिबार वडा नं. ५ मा कार्यक्रम संचालन गरि सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply