राम सुवेदी बुर्तिवाङ २०७६ भदौ १५ । तमानखोला गाउँपालिकाका जनताले हरेक वर्षको असार देखि असौजसम्म आवत जावतमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा बुर्तिबाङ देखि, बोंगादोभान, तमान, खुँखानी, बाेंखानी, नर्जाखानी लगायतका स्थानमा साना सवारी साधनहरु चल्छन् । तर असार लागेपछि त्यहाँका प्राय ठाउँमा सवारी चल्दैनन् । गाउँपालिकाका सबै जनतालाई पैदल हिंडनुको विकल्प छैन ।
तमानखोला गाउँपालिकाका विभिन्न ६ वटा घाटमा मोटरेवल पुल आवश्यक छ । गाउँपालिकामा मोटरेवल पुल बनाउने बजेट छैन, प्रदेश तथा संघको मुख ताक्नु पर्दा समस्या झेल्नुको विकल्प नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले बताए । गाउँपालिकाले भालिबाङ खोला, बोंगादोभान खोला, खुँखानी खोला, तमानखोला, भिकोस खोला र घट्टबोट खोला घाटमा मोटरेवल पुल आवश्यक ठानेर योजनाको पहिलो सूचीमा प्राथमिकस्करण गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत गौतमले, प्रदेश तथा संघमा माग गर्ने योजना रहेको जानकारी दिए ।
बुर्तिबाङबाट बोंगादोभान सम्म सडक स्तरोन्नति भएको छ । भुकम्प प्राधिकरणको वजेटले सडक ग्रावेलिङ भइसकेको छ तर भालिवाङ खोलाघाटमा पुल नहँुदा, असार लागेसँगै त्यहाँबाट अगाडि सवारी साधन चल्दैनन् । तमानखोला प्रवेशवदारमै रहेको भालीवाङ खोला घाटमा २०७४ सालमा अस्थाई कल्भर्ट राखेर सवारी वारपार गर्ने बनाइएको छ । तर वर्षातमा पानी पर्न थालेपछि खोला बढ्छ । कल्भर्ट माथिबाट खोला बग्न थालेपछि सवारी चल्ने कुरा भएन । गाउँपालिकाको मुखैबाट सवारी साधनहरु अघि बढ्न नसकेपछि, तमानखोलाका जनताले आवत जावतमा सास्ती खेप्दैै आएका छन ।
यहाँका जनतालाई भौगोलिक विकटता आफैमा चुनौती छ, त्यसमा पनि धेरै पछि मोटरवाटोको पहुँचमा पुगेको तमानखोला गाउँपालिकामा बर्खा लागेपछी थप चुनौति आइलाग्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा बताउछन् । स्थानीय सरकार गठन भएपछि गाउँपालिकाको वजेटले सबै वडासम्म मोटरबाटो पुग्यो तर सडकको स्तरोन्नति, ग्रावेलिङ र खोलाका घाटहरुमा पुल निर्माणको काम अझै वाँकी रहेको अध्यक्ष बुढाको भनाई छ । आगामी दिनमा यी समस्यालाई समाधान गर्दै जाने उनेले ईबागलुङलाई बताए ।