राम सुवेदी, बुर्तिवाङ २०७६ भदौ २२ । बुर्तिबाङमा रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटन स्थापना भएको छ । २०७५ साल चैत्र महिना देखि संस्थागत प्रक्रियामा गएको रोटरी क्लव आफ बुर्तिबाङ ढोरपाटनले आफ्ना सदस्यहरुलाई भेला गरि प्रथम चार्टर प्रिजेन्टेशन सेरोमोनी सम्पन्न गरेको छ । क्लवका अध्यक्ष डा. शान्तराज न्यौपानेको अध्यक्षतामा गठन भएको रोटरी क्लवमा पश्चिम बागलुङका ४२ जना सदस्यहरु रहेको बताइएको छ । जस्को आज प्रथम पदस्थापन समारोह सम्पन्न भएको छ । सोही अवसरमा क्लवका अध्यक्ष डा. न्योपानेले ‘सामाजिक एकता र मानवीय सेवा भावलाई स्थापित गर्नु क्लवको मूल उद्देश्य रहेको भन्दै यो क्लवको प्रतिवद्धता समेत भएको बताए ।
रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्थाका रुपमा मानिन्छ । जसले सामाजिक र मानवीय उत्थानका लागि सर्वप्रथम आफेनो व्यवक्ति गत स्वार्थ भन्दा माथि उठेर सामाजिक मर्यादा पालन गर्दछ । संस्थागत मूल्य र मान्यता बमोजिम संस्थाका सदस्यहरुले समेत विशुद्ध सामाजिक हित, न्याय र सेवाको काम गर्दछन् । विश्वकै पुरानो सेवामूलक सामाजिक संस्थाका रुपमा परिचित रोटरी क्लव, सन १९०५ फ्रेबु्रअरी २३ मा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा पावल पर्सिनल हेरिस सहितको नेतृत्वमा ‘आफूभन्दा माथि उठेर सेवा गरौं’ भन्ने मूल मन्त्र र आदर्शलाई आत्मसाथ गर्दै स्थापना भएको मानिन्छ ।
रोटरीको स्थापनाकालीन उद्देश्य समेत क्लवमा आवद्ध सदस्यहरुबीच नियमित भेटघाट, स्थानीय सामाजिक समस्या माथि छलफल, सेवाभावका विषयमा गहन सामाजिक अध्ययन गर्दै सदस्यहरुको सामाजिक जीवनमा प्रगति उन्नति र क्षमता विकासमा अभ्यास गर्ने माध्यमका रुपमा लिईदै आएको छ । सकरात्मक सोंच र चिन्तनको विकास, सामाजिक एकता, आपसी सम्बन्धमा प्रष्टता कायम गर्ने संस्थाको उद्देश्य रहेको छ । खासमा सदस्य साथीहरूको घर तथा अफिसमा आलोपालो गरी रोटेशनको आधारमा बैठक गर्ने प्रचलनबाट क्लब सुरुवात भएकोले यस क्लबको नाम ‘रोटरी’ रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ ।
नेपालमा झण्डै ५० वर्षअघि विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका व्यत्तित्वहरु डा. जैन गिरी, किरण समशेर जवरा, गोपाल राजभण्डारी र डा. देवरथ लगायतको पहल र नेतृत्वमा नेपालमा रोटरी अभियानको सुरुवात भएको देखिन्छ । सन १९५८ नोभेम्बर २० मा रोटरी क्लब अफ काठमाडौको विधिवत गठन भएको भएपछि अहिलेसम्म आई पुग्दा विभिन्न स्थानमा गरि ८४ वटा रोटरी क्लब स्थापना भइसकेका छन् ।
सामाजिक विकास, स्वास्थ्य सेवा, शैक्षिक विकास र मानवीय सेवामा रोटरीको क्रियाशीलता रहेको छ । रोटरी क्लबको उद्देश्यहरूहरुमा, सेवाका अवसरहरूको पहिचानमा विकास गर्नु, व्यवसाय र पेशामा वृहत नैतिक स्तर उठाउनु , सबै व्यवसाय र पेशाको सम्मान गर्नु र प्रत्येक रोटरियनको पेशालाई समुदायमा सेवा प्रदान गर्नु, सेवाको विचारलाई रोटरियनहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक जीवनमा परिचालन गराउनु, सदस्यहरुको व्यावसायिक र पेशागत व्यक्तिहरूको सङ्गठित विश्व भाइचाराद्वारा अन्तर्राष्ट्रिय समझदारी र शान्तिमार्फत सेवाको भावनालाई वृद्धि गराउनु हो । नेपालमा स्थापना भएका सबै रोटरी क्लवहरुले सामाजिक सेवा भावमा काम गर्ने बताउँछन् ।
रोटरी क्लवमा आवद्धता जनाएका रोटरियनहरु सामाजिक सेवाको भावले काम गर्दा सोच, भन र गर, यो विषयलाई केन्द्र विन्दुमा राख्ने गर्दछन् । उनीहरुले सत्य कुरा के हो ? के यो सबैका लागि राम्रै हुन्छ ? वा यसले सद्भावना र मैत्रीको वृद्धि गर्ला ? अथवा के यसले सबैलाई भलो र हित गर्ला ? भन्ने चिन्तनलाई बुझ्छन र बुझाउछन् । आम रोटरी क्लबका सदस्यहरूले रोटरीवादको मूल आदर्शलाई मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानविय हितका लागि सेवामुलक कार्यहरू सञ्चालन गर्दै आइरहेका छन् ।
रोटरी क्लब आफैमा एक अन्तराष्ट्रिय क्षेत्रमा सेवा प्रवाह गर्ने ग्लोवल भिलेजका रुपमा स्थापित सामाजिक संस्था भएकाले, स्थानीय स्तरका विभिन्न सामाजिक सङ्घ संस्थाहरुसँग सहकार्य गर्दै समाजमा रहेका असहायलाई सहयोग र राहत, दृष्टिविहीन, अपाङ्ग तथा जेष्ठ नागरिकलाई समय अनुकूल आर्थिक र भौतिक सहयोग गर्ने गर्दछ । ‘मानवीय सेवा र सामुदायिक सेवामा क्रियाशीलता क्लवको मूल क्रियाकलाप हो । रोटरी अन्तर्राष्ट्रियको सहयोगमा खानेपानी आयोजना, सार्वजनिक सडक संरक्षण, वृक्षारोपण र स्वास्थ्य केन्द्र निर्माण आदि विभिन्न सामुदायिक क्षेत्रमा कार्य विस्तार गर्दै आइरहेको छ । रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटनका अध्यक्ष डा. न्योपानेले बताए ।
बुर्तिबाङमा पनि, ‘यहाँको सामाजिक, आर्थिक र मानवीय हितका लागि यहाँका सबै सामाजिक व्यत्तित्वहरुको अग्रसरतामा क्लव स्थापना गरिएको डा. न्यौपानेको भनाई छ । पश्चिम बागलुङका स्पष्ट राजनैतिक नेतृत्व अभाव, भौगोलिक कठिनाई, राज्यका स्रोत साधनहरुको अपुगता, शैक्षिक स्तर न्यून, स्वास्थ्य सेवाको अवस्था नाजुक, विभिन्न योजना वा विकास निर्माणमा राजनैतिक तिक्तता र विरोधाभाष देखिएको छ । यसले सामाजिक विकास अगाडि बढाउन नदिने भएकाले पहिला सामाजिक मर्यादा, मानवीय मूल्य मान्यता स्थापित गर्न सकरात्मक दृष्टिले यहाँको सामाजिक एकतालाई संस्थागत गर्न क्लवको स्थापना महत्वपूर्ण हुने अध्यक्ष डा. न्योपानेको बताए । यसखालको प्लेटफर्म स्थापना हुनु यस क्षेत्रका लागि सौभाग्य भएको समेत न्यौपानेको भनाई छ ।’