कौरव खत्री गुल्मी २०७६ भदौ २२। गुल्मीका शिक्षाविद दामोदर भुषाल राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज सम्मानित भएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भुषाललाई विद्याभुषण “क” बाट सम्मानित गरेकी हुन् ।
हरेक बर्ष स्वदेश तथा बिदेशवाट विभिन्न विधामा विभिन्न समयमा विद्यावारिधी गरेका व्यक्तिहरुलाई उक्त उपाधिले सम्मान गर्ने प्रचलन रहेको छ । उनी चीनको पेकिङ्ग विश्वविद्यालयवाट विद्यावारिधी गर्ने पहिलो व्याचको पहिलो नेपाली हुन् । उनले नेपालमा उद्यमशीलता विकासमा विप्रेषणको भूमिका विषयमा सोध गरेका छन् । नेता भुषालले यसअघि नै त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् ।
राजनीतिलाई पवित्र कार्य ठान्ने नेता भुषाल परिवारमा राजनीतिमा तेस्रो पुस्ताका प्रतिनिधि पात्र हुन् । विद्यार्थी जीवनमा भुषाल सधै चर्चामा रहिरहे । उनी क्याम्पसमा अध्यन गर्दा काठमाडौ शिक्षा क्याम्पसको स्ववियु सभापति बनेका थिए ।
नेविसंघको विदेश विभाग प्रमुख रहदाँ नेता भुषालले शिक्षालाई शान्ति क्षेत्र कायम गराउने र विद्यार्थीको अधिकार स्थापित गराउने आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा परेका छन् । मुलधारको राजनीतिमा नेपाली कांग्रेस गुल्मीको क्षेत्रिय सभापतिको जिम्मेवारी निर्वाह गर्दा नेता भुषालले गरेका कामहरु अहिले पनि स्मरणीय छन् ।