Sorry, that menu does not exist.
 

मुडिकुवामा गाँजाको बोटहरु फडानी : अबैध मदिरा बिक्री गरे कारबाही गरिने प्रहरीको चेतावनी !

लक्ष्मण बिश्वकर्मा, फलेवास २०७६ भदौ २६ । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा लागू औषध गाँजाको बोटहरु फडानी तथा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गर्ने कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले संचालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राहाले प्रहरी चौकी फलेवासको आयोजना र जनप्रतिनिधि तथा लैंगिक हिंसा न्यूनीकरण समिती, टोल विकास समितिका प्रतिनिधिहरु र पत्रकारको उपस्थितिमा उक्त कार्यक्रम बुधवार सम्पन्न भएको हो ।

प्रहरी, जनप्रतिनिधि तथा लैंगिक हिंसा न्यूनीकरण समिती, टोल विकास समितिका प्रतिनिधिहरु र पत्रकारको टोलीले मुडिकुवाको मुख्य बजार क्षेत्रका पसलहरु समेत अनुगमन गरेको छ ।
कार्यक्रममा स्थानीय व्यापारीहरुलाई पहिलो पटक सचेत गराइएको र आगामी दिनहरुमा नियम बिपरित लापरबाही तरिकाले मदिरा बिक्री गरेमा कानुन बमोजिम कारबाही गरिने राहले प्रहरी चौकी फलेवासका इन्चार्ज प्रमोद बिक्रम केसीले बताए ।

अनुगमनका क्रममा व्यवसायीहरुलाई अनुमती (लाइसेन्स) लिएर मात्र निश्चित समयमा मदिरा बिक्री वितरण गर्न आग्रह गरिएको छ । लागू औषध गाँजा तथा मदिराले मानिसहरुलाई शारीरिक तथा मानसिक रुपमा नराम्रो असार पार्नुको साथै घर परिवार र सिंगो समाजलाई नै असर गरि अपराधका अप्रिय घटना घट्ने भएकाले त्यसको न्यूनीकरणको लागि अभियान नै संचालन गरि गाँजा तथा अबैध घरेलु मदिरा नष्ट गरिएको केसीले बताए ।

फलेवासको शान्ति सुरक्षा र अमनचयनका लागि आफुहरु अहोरात्र खटिएको बताउदै शान्ति सुरक्षामा कुनै पनि कसर नराख्ने केसीले बताए । कानुन विपरीत कार्य गर्ने र कुनै पनि अपराधमा संलग्न व्यक्तिलाई यसै नछाड्ने बताउदै कानुनी कारबाहीको दायरामा ल्याइ छाड्ने उनको भनाई थियो । प्रहरी सधै आम सर्वसाधारणको साथमा रहेको बताउदै गाउँठाउँ कुनै अपराध, घटना तथा समस्या परेमा प्रहरीलाई जानकारी गराउन उनले अनुरोध गरेका थिए
स्थानीय स्तरमा कुनै पनि अप्रिय घटना नघटुन, अपराधजनक क्रियाकलाप नहोस् भनेर गाउँगाउँमा पुगेर सचेतना कार्यक्रम संगै अबैध गाजा फडानी कार्य संचालन गरिने समेत उनले बताए ।

राहाले प्रहरी चौकीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिका विभिन्न स्थान तथा बिधालयमा प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू भएपछि वार्डमा ८० प्रतिशत अपराधका घटना न्यूनीकरण भएको मुडिकुवाका वडा सचिव पोषक कुमार सुवेदीले जानकारी दिए । चाडपर्वको समय नजिकै गर्दा हुन सक्ने सम्भावित घटनाहरुबाट जोगिनको लागि प्रहरीसंग समन्वय गरेर वार्ड कार्यालयले विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने सुवेदीले बताए ।
घरेलु मदिरा मात्र नभइ अबैध रुपमा बाहिरबाट आउने अन्य मदिरा पनि रोकथाम गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन ।
कार्यक्रममा वडा सदस्यहरु, नेपाली काग्रेस मुडिकुवाका सभापति पुर्णखर गौडेल,शिक्षक,पत्रकार,विभिन्न आमा समुहका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !