Sorry, that menu does not exist.
 

महाशिलामा “एक घर, एक टनेल” कार्यक्रम प्रभावकारी, कृषकहरुलाई तरकारी बिउ वितरण !

लक्ष्मण बिश्वकर्मा, फलेवास २०७६ भदौ २६ । महाशिला गाउँपालिकाका कृषकहरुलाई विभिन्न किसिमका तरकारीको बिउ वितरण गरिएको छ । मौसम अनुसारको तरकारीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउदै कृषकहरुलाई व्यवसायीक बनाउने उदेश्यले पालिकाका विभिन्न वडाहरुमा तरकारीको बिउ वितरण गरिएको हो ।

वडाको बजेटबाट “घर बगैंचा“ कार्यक्रम संचालन गरि करिब १ लाखको लागतमा आफ्नो वडाका सबै किसानहरुलाई निशुल्क रुपमा रायो,मार्फ, मुला, गाजर धनिया, सिमि काक्रो लागतको तरकारी बिउ वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वार्ड नं। ५ लुंखुदेउरालीका वार्ड अध्यक्ष जीवन उचैले जानकारी दिएका छन् ।

गाउँपालिकाले संचालन गरेको “एक घर एक टनेल ” कार्यक्रम प्रभावकारी बन्दै गएको बताउदै कृषकहरुले विभिन्न किसिमका तरकारी उत्पादन गरि व्यवसायी बनेको उचैले बताए । उनले भने “ हामिले पालिकाका भरिका प्रत्येक घर परिवारलाई टनेल वितरण गयौं, किसानहरुले पनि टनेलको सहि सदुपयोग गर्नुभएको छ, हरेकको टनेलभरि विभिन्न किसिमका तरकारी फलेका छन्” । वडा नं ५ मा करिब ४५ जना कृषकहरुले व्यावसायिक रुपमा तरकारी खेती गरि मनग्ये आम्दानी गरेको बताउदै कृषकहरुको उत्पादनमा सहजता ल्याउनको लागि गाउँपालिका तथा वडाले अनुदान तथा प्राबिधिक सहयोग प्रदान गर्दै आएको उनको भनाइ छ ।

वार्डका ११ टोलमा १ टोल १ नर्सरी स्थापना गरि ५० प्रतिशत छुटमा कृषकहरुलाई काउली बन्दा लगाएतका तरकारीका बिरुवा वितरण गरिएको उनले बताए । प्रदेश सरकार तथा गाउँपालिकाको सहयोगमा वडामा नमुना कृषि पकेट विकास कार्यक्रम समेत संचालन गरिएको वडा अध्यक्ष उचैले बताए ।

त्यस्तै वडा नं ६ फलामखानीका कृषकहरुलाई पनि तरकारीको बीउ वितरण गरिएको वडा सदस्य मन बहादुर सुनारले जानकारी दिएका छन् । वडाको करिब ५० हजारको लागतमा सबै घरधुरीलाई निशुल्क रुपमा रायो,मार्फ, मुला, गाजर धनिया, सिमि काक्रो करेला लगाएतका तरकारी बिउ वितरण गरिएको सुनारले बताए । वडाले निशुल्क तरकारीको बिउ दिएपछि कृषकहरु खुशी भएका छ्न ।
वार्डले निशुल्क बिउ दिएको प्रति खुसी व्यक्त गर्दै आफुले लिएको बिउ राम्रोसंग लगाएर धेरै भन्दा धेरै तरकारी उत्पादनमा जोड दिने फलामखानीका स्थानीय कृषक अशोक गुरुङले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !