कृष्णप्रसाद सापकोटा, बागलुङ (पन्चकोट) २०७६ भदौ २८ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशको सम्वृद्धिको मुख्य आधार पर्यटन भएको बताएका छन । शनिबार बागलुङको पञ्चकोटमा आयोजित पञ्चकोट विराट श्री सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
गण्डकी प्रदेशमा हजारौँको संख्यामा धार्मिक तथा ऐतिहासिक स्थल रहेको र त्यसलाई अवलोकन गर्न बार्षिक लाखौँ पर्यटकहरु भित्रिने भएकाले पर्यटन नै यहाँको सम्वृद्धिको आधार रहेको उनले बताए । पञ्चकोटमा निमाणाधीनमा १०८ फिट अग्लो विश्वशान्ति कलश लगाएतका संरचना तथा यस क्षेत्रको अन्य पुर्वाधार विकासमा प्रदेशले विषेश सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाए ।
कार्यक्रममा पूर्व राज्य मन्त्री रामजी प्रसाद शर्माले बागलुङलाई नेपालमा चिनाउने धेरैनै स्थान तथा उदाहरण भएता पनी अव विश्व सामु यस पञ्चकोटले चिनाउन सक्ने भएकाले यसको निमार्ण तथा बिकासमा सवैको सहयोग अपरिहार्य रहेको बताए ।
पञ्चकोटका प्रतिनिधी अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्य र प्रदेश सांसद इन्द्रलाल सापकोटाले कार्यक्रममा मन्तव्य राखेका थिए ।
धामका परमाध्यक्ष स्वामी कमलनयनाचार्यको अध्यक्षतामा रहेको कार्यक्रमको स्वागत बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल तथा संचालन बा.न.पा. ६का बडा अध्यक्ष एवं पञ्चकोटका उपाध्यक्ष खिमराज सापकोटाले गरेका थिए ।