लक्ष्मण बिश्वकर्मा, फलेवास २०७६ भदौ २९ । पर्वतको प्रशिद्ध धार्मिक तिर्थस्थल मोदीवेणी धाममा सोह्रश्राद्धको अवसरमा तिथीका श्राद्ध संगै गरुड महापूराण, पितृ महायज्ञ र प्रवचन लगायतका कार्यक्रम शुरु भएका छन् ।
तिथीका श्राद्ध कालीगण्डकीका तटमा सम्पन्न गर्दा मोक्ष प्राप्ती हुने र दिवंगत आत्माले दिएको पीण्डदान पाउने धार्मिक विश्वासका साथ मोदीवेणी घाटमा शनिबारदेखि उक्त कार्यहरु शुरु गरिएको हो ।
मोदीवेणीमा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विभिन्न धार्मिक अनुष्ठानका कार्यक्रमहरु सञ्चालन गरिएको बताउदै हिजो प्रतिपदाको दिन पूर्वाङ्ग कार्य सम्पन्न भएको मोदीवेणी धाम संरक्षण समितिका सदस्य युगनाथ गौडेल रेग्मीले जानकारी दिए ।
पहिलो दिन शनिवार १० जनाले पितृको संझनामा श्राद्ध गरेका छन । भदौ २९ देखि असोज ११ गतेसम्म तिथिका श्राद्ध संगै गरुड महापूराण, पितृ महायज्ञ, प्रवचन लगायतका कार्यक्रम संचालन हुने रेग्मीले ईबागलुङलाई बताए ।
विभिन्न धार्मिक ग्रन्थहरुमा कालगतीले झुण्डिएर, हाम फालेर, आगोमा डढेर, सवारी दुर्घटना भएर, रुखबाट लडेर, विष सेवन गरि कालगति नपुगी मृत्यु भएकाहरुले स्वर्गमा बास पाउन मुस्किल हुने भनेर उल्लेख गरिएको छ । स्रोह श्राद्धमा काली गण्डकीको तटमा गरिने पीण्डदानले उनीहरुले पार पाउने मान्यता रहेको हुनाले मोदीवेणीमा श्राद्ध गर्न देशका विभिन्न जिल्लाबाट श्राद्धका लागि मानिसहरु आउने गरेका छन् । विधिपूर्वक व्राह्मणले पाठ गरेर सक्नेले शुल्क तिरेर र नसक्नेले निशुल्क रुपमा श्राद्ध गर्न पाउने व्यवस्था गरिएको मोदीवेणी नर्सिँह मन्दिर संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले बताए । दिवंगत पितृको संझनामा भक्तजनहरुले पैसा, फलफुल, पूजा सामाग्री र गरगहना समेत दान गर्दै आएका छन् ।
मोदीवेणीमा आउने भक्तजनहरुलाई आयोजकले श्राद्धका लागि आवश्यक सामाग्री र पण्डितको समेत व्यवस्था गर्दै आएको बैरागीले जानकारी दिए ।