सुमन सुनार, बुर्तिबाङ २०७६ भदौ ३१ । ढोरपाटन नगरपालिका वडा नं. २ बुर्तिवाङ बजारमा दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी कृष्ण खनालले आफ्ना स्वर्गीय पिता घनलाल खनालको नाममा बुर्तिबाङमा जेष्ठ नागरिक भवन तथा शिव मन्दिर निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।
दुग्ध व्यवसायी खनालले मंगलबार एक कार्यक्रमका विच बुर्तिबाङ बजारको फुलबारी टोल, सेराजाने झोलुङ्गे पुलको नजिकै रहेको १२ आना जग्गा बुर्तिबाङको जेष्ठ नागरिक मञ्चलाई उपलब्ध गराउने घोषणा गरेका हुन् ।
नयाँ पुस्तामा धार्मिक संस्कार हराउदै गइरहेको अवस्थामा असल संस्कारको विकास गर्न आफूले उक्त जग्गा जेष्ठ नागरिक मञ्चलाई उपलब्ध गराएको खनाले बताए । बृद्धबृद्धाहरु पसिना पुछ्दै भारी बोकेर बजारमा हिडेको देख्दा, मलाई आफ्नो बुवा, आमा जस्तै लाग्थ्यो, उनिहरुका लागि सक्ने सहयोग गर्नुपर्छ भन्ने सद्भावले जेष्ठ नागरिक मञ्चले भवन निर्माणका लागि जग्गा खोजीरहेको थाहा पाएपछि मैले जग्गा उपलब्ध गराएको हँु, खनालले भने ।
सो जग्गामा भवन निर्माण भएपछि काम गर्न नसक्ने अवस्थामा घरमा एक्लै बस्ने गरेका ज्येष्ठ नागरिक सोही भवनमा जम्मा भएर आफ्नो पुस्ताका बीचमा विभिन्न विषयमा आफ्ना अनुभव र भावना साटासाट गर्न पाउने अपेक्षा गरेको खनालले बताए । जग्गादाता ४० बर्षिय खनालले बुर्तिबाङ बजारको फाँट बजारमा कृष्ण दुग्ध डेरी तथा मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका छन् ।
जग्गा हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपालीले हरेक मानिस व्यक्तिगत स्वार्थ केन्द्रीत भइरहेको समयमा खनालले लाखौँ पर्ने जग्गा निःशुल्क दान गर्नु महान कार्य भएको बताउदै धेरै व्यक्तिलाई लाभ पुग्ने योजनामा सबै मिलेर काम गर्ने हो भने, परिवर्तन देखाउन समय नलाग्ने उल्लेख गरे । जेष्ठ नागरिकको भवन निर्माणका लागि नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत नगरप्रमुख नेपालीले जनाए ।
यस्तै जेष्ठ नागरिक मञ्च बुर्तिबाङका अध्यक्ष चन्द्रकान्त आचार्यले दाताको मर्मअनुरुपको संरचना तयार गरी जग्गाको अधिकतम सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख सन्तोष शर्मा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख सुरज खड्का लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी, जेष्ठ नागरिकहरुको विशेष उपस्थीती रहेको थियो ।
मञ्चका अध्यक्ष आचार्यको अध्यक्षता रहेको कार्यक्रममा जेष्ठ नागरिक तथा उत्तरगंगा माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक धन बहादुर कुँवरको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन स्थानिय समाजसेवी तुल्सीराम अर्यालले गरेका थिए ।
6 Comments