Sorry, that menu does not exist.
 

बागलुङमा उपनिर्वाचनको तयारी, वडा वडामा मतदाता नामावली अध्यावधिक कार्य सुरु !

बुर्तिवाङ २०७६ असोज ३ । आगामी मंसिर १४ गते हुने उप—निर्वाचनका लागि पश्चिम बागलुङका तीन वटै पालिकाका सबै वडाहरुमा निर्वाचन आयोगले मतदाता अध्यवधि गर्न थालेको छ । बुधबारबाट यहाँका २२ वटै वडामा निर्वाचन सहायक तोकेर मतदाताहरुको नामावली अध्यवधिक सुरु गरेको छ ।

ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका सबै वडामा असोज १ गते निर्वाचन कार्यालय स्थापना र मतदाता नामावली विवरण प्रकाशित गरिएको छ । विहिबारबाट आगामी असोज ६ गतेसम्म मतदाता नामावलीमा देखिएका त्रुटी सच्याउने, हटाउने विषयमा निवेदन संकलन गरिएको छ । यस्तै असोज ६ गते निवेदन उपर आवश्यक छानविन गर्ने, असोज ८ गते नामावली सच्याइएका र हटाइएकाको सूची तयार गर्ने, र अद्यवधिक गरिएको नामावली प्रकाशन गर्ने, तथा असोज १० गतेसम्म अद्यवधिक गरिएको नामावली जिल्ला निर्वाचन कार्यालयमा बुझाउने कार्यक्रम तालिका रहेको जिल्ला निर्वाचन अधिकृत विकास पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले गत साउन १६ गते उपनिर्वाचनको मिति तोकेको छ । यस पटकको उप निर्वाचनमा साउन १६ गते पछि मतदाता नामावलीमा नाम समावेश भएकाले मतदान गर्न नपाउने भएका छन् । जस जसको साउन १६ अघि मतदाता नामावलीमा नाम दर्ता भएको छ उनीहरुको मात्र अद्यावधिक गर्ने मतदाता नामावलीमा नाम समावेश भएर आएको निर्वाचन कार्यालयले जनाएको छ ।

बागलुङ जिल्लामा बडीगाड गाउँपालिकाको वडा नं. २ मा वडा अध्यक्ष पदका लागि तथा निर्वाचन क्षेत्र नं. २ प्रदेश ‘ख’को उपनिर्वाचन हुने छ । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा यस प्रदेशबाट ३५ हजार ६ सय ३४ मतदाता मतदान गर्ने प्रक्रियामा छन् । अघिल्लो निर्वाचनमा ३३ हजार २ सय ४० मतदाता रहेकोमा कुल २२ हजार ६९ मत खसेको थियो । यस प्रदेशबाट निर्वाचित भएका टेक बहादुर घर्ति मगरको कलेजोको समस्याका कारण मृत्यू भएपछि उपनिर्वाचन हुन लागेको हो । देशभर कुल ५० स्थानमा एकै दिन उप निर्वाचनको मिति घोषणा गरिएको छ । अहिले प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !