कमल पौडेल, बडीगाड २०७६ असोज ५ । खानेपानी डिभिजन कार्यालय बागलुङको टोलीले सनिवार खर्वाङ दनिया सिमलचौर लिफ्टिङ खानेपानी आयोजनाको अनुगमन तथा निरिक्षण गरेको छ । कार्यालयका प्रमुख प्रेम प्रसाद डोटेल, लेखा अधिकृत प्रेम बहादुर केसी, इञ्जिनियर सूर्य प्रसाद शर्मा, निर्माण व्यवसायी गिरिजा तिवारी सहितको टोलीले अनुगमत तथा निरिक्षण गरेको हो । बहुवर्षे योजना अन्तरगत प्रदेश सरकारको ८० प्रतिशत र स्थानिय उपभोक्ताको २० प्रतिशत लगानीमा सो खानेपानी योजना निर्माण हुन लागेको हो । टोलीले निर्माणाधीन मुल ट्यांकी सहित ४ ओटा शाखा ट्यांकीहरुको समेत निरिक्षण गरेको थियो ।
सो परियोजनाको लागी गत वर्ष ९० लाखको काम सम्पन्न भएको थियो भने चालु वर्षको लागी १ करोड ४५ लाख विनियोजन भएको खानेपानी डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम प्रसाद डोटेलले जानकारी दिए । आर्थिक वर्ष २०७७÷७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको र परियोजना सम्पन्न गर्दा ५ करोड खर्च हुने आयोजनाले जनाएको छ । चालु वर्षमा ५० प्रतिशत भन्दा वढि काम सम्पन्न भैसक्ने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भएपछि स्थानिय ३ सय घर परिवार लाभान्वित हुने छन् । त्यस्तै खानेपानी डिभिजन कार्यालयको टोलीले गल्कोट नगरपालिका ११ रिघा फेँदैमा रहेको छरछरे खानेपानी आयोजनाको पनि निरिक्षण गरेको छ । सो आयोजना अन्तिम चरणमा पुगेको र २ महिना भित्र सम्पन्न हुने आयोजनाले जनाएको छ। सो आयोजनावाट ५७ घरधुरी लाभान्वित हुनेछन् । सो अनुगमन तथा निरिक्षणमा वडा अध्यक्ष डम्बर श्रीस लगाएतको सहभागिता रहेको थियो ।