शव्द/चित्र : थम्मन थापा
गल्कोट २०७६ असोज २५ । गल्कोट नगरपालिका वडा नं ८ काँडेबास वीरकोट मगर समुदायको बसोबास भएको गाउॅ हो । दर्लामी सलामी र बुढाथोकी मगर समुदायको बाहुल्यता रहेको उक्त गाउॅ कला संस्कृतिको धनी ठाउॅ मानिन्छ । विशेष गरि महान चाड तिहारमा गाईने सोरठी देउसी भैलो त्यहाको विशेषता रहेको छ । स्थानिय स्तरमा संस्कृति संरक्षण मञ्च नामक सामाजिक संस्थाले कला संस्कृतिको संरक्षण र जगेर्ना गर्दै जीवन्त राख्न प्रयत्नशील छ । त्यस्तै वीरकोट मगर समाज र गैरी गाउॅ आमा समुह वीरकोटले त्यसमा सहकार्य गरिरहेको छ ।
मञ्चले स्थानिय देउसी भैलो र सोरठीलाई संरक्षण गर्न गाउॅमै सुटिङ युनिट ल्याएर नचरी भाग १, भाग २, भाग ३ हुदै अहिले भाग ४ छायाङकन गरेको छ । गाउॅकै कला संस्कृतिलाई झल्काउने गरि भिडियो तयार पारिएको छ । भाग ३ सम्मका सबै गीती एल्वम सार्वजनिक भईसकेका छन भनें भाग ४ यो तिहार अगावै सार्वजनिक गर्ने तयारी भईरहेको छ । मगर समुदायमा यसै पनि कला संस्कृति र सभ्यतामा धनी मानिन्छ । कला गलाले भरिपुर्ण कलाकारहरु यो समुदायमा जन्मेका छन । तिहारमा खेलिने देउसी भैलो सोरठीलाई डिजिटल प्रविधिको यो जमानामा सदैव जीवित राख्न र बुढापाकाले कला संस्कृतिलाई पछिल्लो पुस्तालाई पुस्ता हस्तान्तरण गर्न त्यस तर्फ आकर्षित गर्न आफुहरु प्रयासरत रहेको संस्कृति संरक्षण मञ्च काडेबासका अध्यक्ष तथा सोरठी कलाकार डिल बहादुर बुढाथोकीले जानकारी दिए । रामायण, कृष्ण चरित्र, तिहारमा भाई टीकाको महत्व, दिदीभाईको सम्बन्ध, त्यस्तै १४ औं शताब्दीका पाल्पा बल्ड्याङगढीका लोकप्रिय राज बलि हाङको पाला देखि तिहारमा भाई टीका सुरु भएको किंवदन्ती रहेको मञ्चका सदस्य पदम सलामी मगरले जानकारी दिए ।
स्वर्गको यमराजले ती राजालाई लिन आउने र स्वर्गमा लाने कुरा प्रजाले थाहा पाए सॅगै तिहारे औंशीमा ती राजाको सु(स्वास्थ्य, दीर्घायुको कामना गरेर चोखो निष्ट गरि बसेको अनि प्रजाको राजा प्रति देखाएको माया अनि व्यवहार देखेर पछि यमराजले राजालाई केहि गर्न नसकेको र पछि त्यहि खुसीयालीमा राजाले जनतालाई ३ दिन ३ रात दीपावली गरि मिठा परिकारहरु खाएर खुसीयाली मनाउन अनुरोध गरेको र त्यहि बेला देखि दीपावली मनाउन सुरु गरिएको जस्ता विषयवस्तु नचरी एल्वम अन्तरगत देउसी भैलो र सोरठी गीतमा समावेश गरिएको छ ।
त्यस्तै तिहारमा भाई टीका लगाउन भाई दिदीकोमा जाने क्रममा बाटोमा काली नागले बाटो छेकेर आज तॅलाई म खान्छु खान्छु भनेको त्यसपश्चात भाईले नागलाई अनुरोध गरि अहिले मलाई नखाउ म मेरी दिदीको हातको टीका लगाएर आउॅछु अनि खाउला भनि अनुरोध गरेपछि काली नागले छोडेको र भाई दिदीकोमा पुगेर टीका लगाउने क्रममा दिदीलाई कालीनागले गरेको गतिविधी बताएका र टीका थापिसकेपछि आशिवार्द दिने क्रममा दिदीले कालीनाग सात टुक्रा परोस भनि ओखर फोडेको, ७ रङ्गी टीका लगाई दिदीले भाईको सु(स्वास्थ्य, दीर्घायुको कामना गरेको र पछि फर्कदा नाग सात टुक्रा परेको र यहि खुसीयालीमा उनले तिहार मनाएको र त्यहि बेलाबाटै भाई टीका सुरु भएको कथा वस्तु गीत र नृत्य मार्फत भिडियोमा छायाङकन गरिएको छ ।
गीतमा लोकप्रिय कलाकार भुपेन्द्र सलामी मगर, तुल बहादुर सलामी मगर, डिल बहादुर बुढाथोकी लगायतको आवाज रहेको छ । त्यस्तै कला संस्कृतिको संरक्षण सम्वर्दनको निम्ति उक्त कार्यमा गलकोट नगरपालिकाले पनि सहकार्य गर्दै नगद रु १ लाख आर्थिक सहयोग गरेको नगर उप प्रमुख रेनुका काउचा मगरले बताईन । त्यस्तै ताराखोला गाउॅपालिकाले नगद रु २५ हजार र अन्य स्थानियबासी देश विदेशमा रहेका शुभेच्छुकहरुले समेत आर्थिक सहयोग गरेका छन ।
छायाङकन कार्यक्रममा गण्डकी प्रदेशका सांसद चन्द्र बुढा मगर, गलकोट नगरपालिकाका नगर उप्रमुख रेनुका काउचा मगर, ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, गलकोट नगरपालिका ८ का वडा अध्यक्ष रामप्रसाद कॅडेल, वडा नं ११ का वडा अध्यक्ष डम्मर श्रीस, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा, जनता टेलिभिजनका पत्रकार कौरव खत्री, सामुदायिक रेडियो गलकोटका कार्यक्रम संयोजक सरिता खत्री, देउसी भैलो सोरठी गायनका कलाकारहरु, कलाप्रेमी, समाजसेवीहरु, स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सोरठी नचरी भाग(४ गीत सार्वजनिक भएपछि युट्युवमा हेर्न सकिने संस्कृति संरक्षण मञ्चले जनाएको छ ।