Sorry, that menu does not exist.
 

आजको तस्वीर : दगाकोतको पूर्णिमा मेलामा सरायँ नाँचको आकर्षण !

शव्द/चित्र : कमल पौडेल,

बडीगाड २०७६ असोज २७ । कोजाग्रत पूर्णिमाका दिन बडीगाड गाउपालिका-१ दगाकोतमा लागने पूर्णिमा मेला (सरायँ नाँच) सम्पन्न भएको छ । झण्डै दुई सय वर्ष देखी दगाकोतमा नाँचिदै आएको वीररस युक्त सरायँ नाँच यस क्षेत्रको निकै महत्वपूर्ण, ऐतिहासिक धरोहरको रुपमा लिईन्छ । दगाकोतमा आयोजना गरिने सरायँ नृत्य अवलोकन गर्न छिमेकी जिल्ला गुल्मी र अर्घाखाँची लगायत बागलुङ जिल्लाका विभिन्न भागहरुबाट उल्लेख्य जनसमूहको सहभागिता देख्न सकिन्छ ।

पछिल्लो समय दगाकोतमा कोजाग्रत पूर्णिमामा प्रदर्शन गरिने सरायँ नाँचका साथै भलिबल लगायतका प्रतियोगितात्मक खेलकूदहरुको आयोजना गरिदै आएको छ भने स्थानीय सँस्कृति झल्किने विभिन्न नृत्य झाँकीहरु समेत प्रदर्शन गरिदै आएको छ । यी परम्परागत संस्कृतिहरुको जगेर्ना गर्नमा युवापीँढीहरुको विशेष सक्रियता रहेको सुखद अनुभूति दगाकोतमा देख्न सकिन्छ । समाजको धरोहरको रुपमा रहेको सरायँ जस्ता लोक संस्कृतिको संरक्षण, सम्वर्धनमा युवाहरुको विशेष चासो रहनु सकारात्मक पक्ष रहेको चर्चा गर्दै यस्ता प्रकारका ऐतिहासिक, पौराणिक संस्कृतिमाथी कहिँ कतैबाट धावा बोलिनु नहुने स्थानीयको सोँच रहेको छ । विभिन्न लोककराकारहरुको जमघट गराई छाडा साँगीतिक प्रस्तुति पस्किने पछिल्लो प्रचलनले समाजमा विद्यमान सरायँ जस्ता ऐतिहासिक परम्परा माथी ठेस पुग्ने कुरामा बुढापाकाहरु चिन्तित देखिन्छन् ।

गुल्मी, अर्घाखाँची लगाएतका जिल्लामा प्रचलित सरायँनाच बागलुङ पश्चिम बडीगाडका केहि स्थानमा नाच्ने गरिन्छ । त्यस मध्य दगाकोतमा पूर्णिमामा हुने सरायँ नाचलाई विशेष मान्ने गरिन्छ। वीररस युक्त सो नाच विजय उत्सवको रुपमा नाचिन्छ। सो नाँच हेर्न र नाच्न बागलुङका दगातुन्डाडा, जलजला, शिसाखानी, रिघा, ग्वालीचौर तथा गुल्मीका पौदिअमराई, वामीटक्सार, मुसिकोट लगाएतका स्थानवाट स्थानिय पुग्ने गर्दछन् । करिव २ सय वर्ष पहिले देखि दगाकोतमा पुजा संगै पूर्णिमामा सरायँ नाच्ने प्रचलन रहँदै आएको छ।

दगाकोतमा आयोजित कोजाग्रत पूर्णिमा मेला सरायँ नाँचको उद्घाटन गदै प्रदेश सांसद चन्द्रबहादुर बुढा सागरले आईतबार सरायँ नाँच नेपालको पहिचान भएको भन्दै त्यसको संरक्षणमा युवाहरु लाग्नुपर्ने बताए भने जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले ऐतिहासिक कला संस्कृतिमा दगा अगाडि रहेको भन्दै त्यसको संरक्षणमा युवाहरु खटिएकोमा प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष बोम बहादुर थापा, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चिसापानी युवा क्लवले गरेको सो कार्यक्रममा परम्परागत रुपमा नाचिदै आएको सरायँ नृत्य, भैलो, भजन, झाँकी लगाएत प्रस्तुत भएको थियो। त्यस्तै २३ गते देखि चलेको मेलामा खुल्ला पुरुष भलिवल प्रतियोगिता चलिरहेको छ । आज भलिवल फाइनल, तथा विभिन्न साँस्कृतिक कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रम क्लवका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षता तथा सचिव हरिलाल नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !