लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७६ असोज २९ । ढोरपाटन नगरपालिका र बुर्तिबाङ राईजिङ युवा क्लबको संयुक्त आयोजनामा संचालन भइरहेको प्रथम ढोरपाटन मेयर गोल्ड कप तथा पूर्णिमा मेला—२०७६ को औपचारिक रुपमा मंगलबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि एवं ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख नेपालीले राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गरेपछि पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटनपछि बोल्दै नेपालीले विकासको निम्ति सबै एक हुनुपर्ने कुरामा जोड दिए । राजनीतिक आस्था र विचार फरक फरक भए पनि आफ्नो क्षेत्रको विकासका लागि सबै एक भएर अगाडि बढ्न सकेमात्र गरिबी न्युनीकरण गरी विकास र समृद्धि गर्न सकिने र आफ्नो धर्तीलाई स्वर्ग जस्तै हराभरा बनाउन सकिने नेपालीले बताए ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले कार्यक्रममा बोल्दै देशमा असल नागरिक निर्माण गर्नसके मात्र समग्र देशको विकास हुने बताए । उनले विकास भनेको बाटोघाटो र भौतिक निमार्ण मात्र नभई समाजमा रहेका विकृति, विसंगति, कुप्रथा, असमानता र विभेदलाई हटाई सभ्य समाजको निर्माण गर्नुपर्नेमा जोड दिए । जसको लागि कर्मचारी, प्रशासन, प्रहरी, संचारकर्मी, जनप्रतिनिधि, नागरिक समाज लगायत सबै सचेत नागरिकको महत्वपूर्ण भूमिका रहने उनले बताए ।
उद्घाटन कार्यक्रमकै अवसरमा विगतदेखि वर्तमानसम्म बुर्तिबाङ क्षेत्रको लागि विभिन्न समाज सेवाको क्षेत्रमा योगदान पुराउने समाज सेवी अर्जुन मल्ल (भू.पू. प्रधान पञ्च), हर्क बहादुर गुरुङ (भू.पू.प्रधानपञ्च तथा गा.वि.स.अध्यक्ष), सन्तलाल श्रेष्ठ (भू.पू.प्रधानपञ्च तथा गा.वि.स.अध्यक्ष), तुल्सीराम अर्याल (भू.पू.गा.वि.स. अध्यक्ष), धीरप्रताप सिँह (पूर्व प्रअ एवं शिक्षा प्रमी), र बेग बहादुर पुन (पर्वू. प्र.अ.एवं शिक्षा प्रेमी), कृष्ण शेरचन (खेल प्रेमी÷समाजसेवी) लाई विशिष्ट अतिथिको आसनग्रहण गराई ढोरपाटन नगरपालिकाको तर्फबाट फेटा गुथाएर अविर माला र कदर पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित हुने विशिष्ट अतिथिहरु अर्जुन मल्ल, सन्तलाल श्रेष्ठ, हर्क बहादुर गुरुङ, धरिप्रताप सिँह, तुल्सीराम अर्याल, कृष्ण शेरचन लगायतले विगतका अनुभूति र अनुभवहरुलाई व्यक्त गरेका थिए । त्यसैगरी विदेशमा रहेर पनि समाजसेवा र पीडित विरामीहरुको सेवामा लागेकी लक्ष्मी सेन्चौरीले समेत कार्यक्रममा मन्तव्य राखेकी थिईन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टको समेत विशेष उपस्थिति रहेको थियो भने उक्त उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकार, पत्रकार लगायत दर्शक एवं स्थानीयवासीको व्यापक उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष यामु पौवीको अध्यक्षता रहेको उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको स्वागत र क्लबका महासचिव गोपाल महतको संचालन रहेको थियो ।
उता कृषि ज्ञानकेन्द्र पर्वत, ढोरपाटन नगरपालिका, र बुर्तिबाङ राईजिङ युवा क्लबको सँयुक्त आयोजनामा कृषि प्रर्दशनी राखिएको छ । जसमा कृषकहरुले उत्पादन गरेका तरकारी, फलफुल, खसिबोका, लगाएतका उत्पादन प्रर्दशनीमा राखेका छन् ।
के छ बुर्तिबाङको पूर्णिमा मेलाको इतिहास ?
बुर्तिबाङमा लाग्ने पूर्णिमा मेलाको इतिहास लामो छ । वि.सं. २०२० सालभन्दा पहिलेदेखि नै यो मेला लाग्न थालेको अग्रजहरु बताउँछन् । तर २०३३ सालमा उत्तरगंगा बराह युवा क्लबको स्थापना गरी मेला संचालन गरेको पाइन्छ । बुर्तिबाङमा मेला शुरु हुँदाको अवस्था देखि वर्तमानसम्मको अनुभवलाई ७९ वर्षिय अर्जुन मल्ल, धीरप्रताप सिँह, त्यसैगरी सन्तलाल श्रेष्ठ, कृष्ण शेरचन, हर्क बहादुर गुरुङ, तुल्सीराम अर्याल समेतले मेलाको इतिहासलाई उद्घाटन कार्यक्रममा ताजा बनाए । पूर्णिमा मेलालाई व्यवस्थित बनाउन उल्लेखित व्यक्तिहरु लगायत स्थानीय समाजसेवी, बुद्धिजीवीहरुको पहलमा बुर्तिबाङमा दुर्गा भगवती मन्दिरको स्थापना गरि त्यसमा पूजा आजा गरि दशैंको कोजाग्रत पूर्णिमा मेला मनाउँदै आएको पाइन्छ । शुरुका दिनहरुमा मेला अनौपचारिक रुपमा नै हुने गर्दथ्यो । पछि उत्तरगंगा बराह युवा क्लबले मेलालाई औपचारिक रुपमा व्यवस्थापन गर्न शुरु गरेको पाइन्छ । पूर्णिमाको दिन बेलुकीतिर सरायँ नाच नाचिने, अर्काेदिन छेलो फाल्ने, झ्याउरे गाउने र तेस्रो दिन मेला सकिने गर्दथ्यो । मेलामा निसीभुजी लगायत धेरै ठाउँबाट मान्छेहरु आउने गर्दथे । विं.सं. २०६० मा बुर्तिबाङ राईजिङ युवा क्लबको स्थापना भएसंगै क्लबले विविध कार्यक्रमको आयोजना गरी मेलालाई थप व्यवस्थित गर्दै आएको छ । यस्तो ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको कोजाग्रत पूर्णिमा मेलामा यसपालि प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप जोडिएपछी कोजाग्रत पूर्णिमा मेला ओझेलमा परेको धेरैको अनुभव बाहिर आयो । यसपालीको कोजाग्रत पूर्णिमा मेलाको रौनकता मेयर रनिङ गोल्डकपले लगेको मेला प्रेमीहरुले बताए ।
मेलाको व्यवस्थापन कस्तो छ ?
यस मेलालाई सधैका वर्षहरुमा बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गर्दै आएकोमा यस वर्ष भने ढोरपाटन नगरपालिका र क्लबले संयुक्त रुपमा आयोजना गरेका छन् भने खर्चको व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने भएको छ । त्यसैले यस पटक भने क्लब आर्थिक बोझबाट मुक्त हुने देखिन्छ । ढोरपाटन नगरपालिकाबाट १४ लाख भुक्तानी भइसकेको नगरपालिका स्रोतले बताएको छ । करिब ३६ लाखभन्दा बढीको खर्च आयव्यय सार्वजनिक गरेको क्लबले २६ लाख नगरपालिकाबाट अपेक्षा गरेको छ । कार्यक्रममा मेयर गोल्ड कपलाई समेत समावेश गरिएको छ । कार्यक्रम सुरु भइरहंदा बुर्तिबाङ बजारको बजार व्यवस्थापन र सडक निर्माणको अवस्था अस्तव्यस्त नै देखिन्छ । सडक निर्माणका कारण देवचोकमा सामान बोकेका गाडीहरु रोकिएपछि र मन्च निमार्ण गर्दा समेत गाडीहरु रोक्ने गरि निर्माण भएपछि व्यापारीहरुले चर्काे आवाज उठाउन पुगेका थिए । त्यसपछि केही समयका लागि डोजर लगाएर उत्तरगंगा स्कुल चोकदेखि गंगा बहादुर वि.क.को घरमुनिबाट फिल्महल सम्म गाडी निस्कने बाटाको निकास दिएपछि खाद्यान्न आपूर्तिमा केही सहजता आएको व्यापारीहरु बताउँछन् ।
कार्यक्रमको व्यवस्थापकीय झलक
विशिष्ट पाहुना र कलाकारहरुलाई नगर प्रमुखको होटल दरबारमा राख्ने व्यवस्था मिलाएको आयोजक स्रोतले बताएको छ । कलाकार र पाहुनाहरुको खर्च अत्यधिक आउनसक्ने अनुमान छ । मेलामा विगतका कार्यक्रमहरुलाई नै प्रायः निरन्तरता दिएपनि दोहोरी गीत प्रतियोगिता र अन्य कतिपय महत्वपूर्ण कार्यक्रमहरु हटाइएको छ । असोज २६ गतेबाट नै प्रतियोगी कार्यक्रमहरु शुरु भएपनि कार्यक्रमको औपचारिक उद्घाटन २८ गते मात्र भएको हो । कात्तिक २ गते कार्यक्रमको समापन हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षण
पालिका स्तरीय भलिबल र राष्ट्रिय कलाकारहरुको प्रस्तुति नै कार्यक्रमको मुख्य आकर्षण देखिन्छ । पुरुष भलिबल खेलमा अहिलेसम्म ११ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ, जुन गत वर्षहरुको तुलनामा निकै कम सहभागिता हो । कार्यक्रम उद्घाटनको दिन राष्ट्रिय कलाकारहरु विष्णु खत्री, प्रकाश सपुत, शान्ति श्री परियार, उद्घोषिका शितल शर्मा लगायतका कालाकारहरुको प्रस्तुतिले कार्यक्रमको माहोललाई तताएको थियो । बाँकी दिनहरुमा अन्य कलाकारहरुको पनि प्रस्तुति रहने कार्यक्रम रहेको छ ।
मेलाको पारदर्शिता र जनचासो के छ ?
क्लबले विगत अघिल्लो कार्यसमिति र वर्तमान कार्यसमितिको गत आर्थिक वर्षको हरहिसाब सार्वजनिक गरेको छैन । केही समय पहिला अध्यक्ष र महासचिवको हरहिसाब फरक फरक आएको थियो भने त्यसलाई १५ दिनभित्र एकमुष्ट गरि पारदर्शी तरिकाले हरहिसाब अडिट गर्ने भनिएपछि अहिले उक्त हरहिसाब अडिट गरिसकेको क्लबले जनाएको छ । सबै हरहिसाब कार्यक्रम सकिएपछि पारदर्शी रुपमा सार्वजनिक गरिने क्लबका अध्यक्ष यामु पौवीले जानाकारी दिएका छन् ।
उता नगरकार्यपालिकाका केही पदाधिकारीहरुले नगरकार्यपालिकाको निर्णयविना नै नगर प्रमुखले आफू खुसी कार्यक्रम संचालनका लागि नगरपालिकाबाट रकम विनियोजन गरेको भनी असन्तुष्टि व्यक्त गरेका छन् । यसबारेमा नगरपालिकाका प्रवक्ता दिपक थापाले लामो समयदेखि नगर कार्यपालिकाको बैठक नै बस्न नसकेको र मेयर कप संचालन गर्ने विषयमा कुनै छलफल नै नगरी नगरपालिकाको रकम विनियोजन गर्नु विधिसम्मत नभएको बताए । यतिबेला सामाजिक र राजनीतिक वृत्तमा समेत मेयर कपको विषयमा विभिन्न टीकाटिप्पणीहरु समेत भइरहेका छन् ।
उद्घाटन कार्यक्रमको समीक्षा कस्तो छ ?
निर्धारित समयभन्दा कार्यक्रम ढीलो भएको थियो । ३० जना अटाउने मञ्चमा करिब ३०० भन्दा बढी व्यक्तिहरुलाई आसनग्रहणका लागि बोलाइएको थियो । आसनग्रहण गराउँदा मर्यादाक्रम र पोर्टफोलियो अनुसार नभएको भनी कतिपयको गुनासो सुनिन्थ्यो । नगरप्रमुख कार्यक्रमको प्रमुख अतिथि रहेकाले प्रमुख जिल्ला अधिकारी पनि छायाँमा नै रहे । बुर्तिबाङका आसपासमा हुने प्राय: धेरैजसो कार्यक्रमहरुमा नगरप्रमुख देवकुमार नेपाली प्रमुख अतिथि भएर गलादेखि नाकको डाँडी ढाक्नेगरी टुप्पीसम्म फूलमाला पहिरिएर सम्मान लिएको देख्ने गरिन्थ्यो । कुनै कुनै कार्यक्रममा त उनी मालाको भारीसंगै कसैको काँधमा चढेका तस्वीरहरु पनि सामाजिक संजालमा भाइरल र टिकाटिप्पणी समेत भए तर यस कार्यक्रममा भने उनले एउटा मात्र सुन्दर माला पहिरिएका थिए भने अन्य विशिष्ट अतिथिहरुले पनि एक एक ओटा माला पहिरिएका थिए । प्रायः धेरै कार्यक्रमहरुमा आफैले धेरै सम्मान खाने नगर प्रमुख यस कार्यक्रममा भने अग्रज एवं विशिष्ट अतिथिहरुलाई नै उनले बढी सम्मान गरेर आफूलाई सालिन रुपमा प्रस्तुत गरे ।
त्यतिमात्र नभएर अग्रजहरुलाई सम्मान गर्नुपर्ने, विकासको लागि यो पार्टी त्यो पार्टी नभनेर सबै एक भएर लाग्नुपर्ने, आफ्नो धर्तीलाई सबै मिलेर आफै हराभरा र स्वर्ग बनाउनु पर्ने, गरिबी निवारण नगरेसम्म समाज समृद्ध हुन नसक्ने भएकाले सबै एकतावद्ध भएर लाग्नु पर्ने जस्ता उनका विचार अभिव्यक्तिले सबैको ध्यान तानेको थियो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले भने बोल्ने अवसर पाएनन् । राजनीतिक दलका एक प्रतिनिधिले मेयर कप र कार्यक्रमको विषयमा विरोध आउँछ भनेर नै दलका प्रतिनिधिलाई बोल्न नदिएको बताए । उनले सम्मान कार्यक्रम राम्रो भए पनि समाजसेवीको हैसियतले सम्मान नगरी कतिपयलाई पूर्व प्रधानपञ्चको हैसियतले सम्मान गर्नु सान्दर्भिक नभएको बताए । त्यसैगरी कतिपयले सम्मान गर्नुपर्ने व्यक्तिहरुमा लामो समय प्र.अ. भएर ४१ वर्ष शिक्षा क्षेत्रमा योगदान दिएका उत्तरगंगा मा.वि.का पूर्व प्र.अ. धन बहादुर कुँवर, शिक्षा क्षेत्रमा लामो योगदान पुराउने थमप्रकाश छन्त्याल, लामो समय निजामती सेवा एवं सामाजिक क्षेत्रमा योगदान पुराएका नन्दराम भुसाल जस्ता व्यक्तिहरुलाई चिन्न नसकेको र उनीहरुको योगदानको उपेक्षा गरेको समेत बताए ।
6 Comments