गल्कोट २०७६ कात्तिक १७ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले कात्तिक १९ गते १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । गलकोट नगरपालिका वडा नं ७ को समन्वयमा मल्मका विभिन्न संघ संस्थाहरु र गलकोट अप्टिकल हटियाको सहकार्यमा १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।
ग्रामीण क्षेत्रमा रहेका जनताको आँखाको समस्यालाई मध्यनजर गरि आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष थापाले बताए । संस्थाको कार्यालय मल्म सप्ताहघाटमा भएको प्रतिनिधीमुलक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले शिविर आँखा सफल पार्न थम्मन थापा सन्देशको संयोजकत्वमा जनप्रतिनिधी, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, कार्यसमिति पदाधीकारीहरु, सल्लाहकार, युवाहरु गरि २७ सदस्यीय शिविर व्यवस्थापन समिति चयन गरेको छ ।
आँखा शरीरको अत्यन्तै संवेदनशिल र महत्वपुर्ण अंग भएकोले आँखाका समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि कात्तिक १९ गते घुम्टे युवा परिवारको प्राङगड मल्म सप्ताहघाटमा शिविर गर्न लागिएको संस्थाले जनाएको छ । शिविर बिहान ८ बजेदेखि सञ्चालन गरिने बताईएको छ । शिविरमा निशुल्क आँखा चेक जाँच गरि रिपोर्ट उपलब्ध गराउने, सामान्य औषधीहरु निशुल्क उपलब्ध गराउने आखाँ डक्टर रुद्र बहादुर खत्रीले जानकारी दिए । आँखा शिविरको लागि शिविर स्थलको आन्तरिक तथा बाह्य व्यवस्थापन घुम्टे युवा परिवार, स्थानिय विभिन्न संघ संस्थाहरु र वडा कार्यालयले गर्ने त्यस्तै डक्टर, आवश्यक उपकरणहरु र औषधीहरु गलकोट अप्टिकल हटियाले व्यवस्थापन गर्ने बताईएको छ ।