केशबराज क्षेत्री, कुस्मीसेरा २०७६ कार्तिक १८ । बागलुङको दक्षिण भेगमा सोमबार दिउँसो परेको वर्षाका कारण धानबालीमा क्षति पुगेको छ ।
मानो रोपेर मुरी भित्रयाउने यो समयमा एक्कासी खेतका फाँटमा मेहनत गरिरहेको बेलामा पानी परेपछि धान खेतीमा क्षति पुगेको हो । आजको बेमौसमी वर्षाले जिल्लाको कुन भागमा कति क्षती पुग्न गयो भन्ने विवरण आउन बाँकी छ । किसानहरु भने धान उत्पादन घट्ने चिन्तामा छन् ।
बरेङ गाउँपालिकाको हुग्दिशिर, धुल्लुबास्कोट, बाटाकाचौर र जैमिनी नगरपालिकाको राङखानी, पैयुथन्थापका करिब ७० प्रतिशत किसानको धानबाली पानीले भिजाइदिए पछि किसानहरु चिन्तित भएका छन् । केही किसानहरु तिहार अघि नै धान भित्राइसकेका थिए तर धेरै किसानहरुको खेतका फाँटमा भने पहँलपुर अवस्थामा काटिएको र नकाटिएको धान रहेको छ ।
कृषिलाई नेपालको प्रमुख आत्मनिर्भर बनाउने आर्थिक उपार्जनको रुपमा मानिन्छ तर कहिले उत्पादन हुँदैन, कहिले प्राकृतिक प्रकोपले नष्ट गरिदिन्छ त कहिले उत्पादन भएको बालीले बजार पाउँदैन ।