कोपीला कंडेल,बागलुङ २०७६ कात्तिक २१ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले नेपाल कम्युनिष्ट पार्टी नेकपा आफ्नो मित्र शक्ति भएकाले फरक मत सहित हरेक ठाउंमा सहकार्य गर्न सकिने बताएका छन् ।
आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको लागि बागलुङमा मनोनयन दर्ता पश्चात आयोजित उम्मेद्वार परिचय कार्यक्रमको संबोधन गर्दै उनले ने.क.पा र रा.ज.मो मिलेर चुनावी मैदानमा उत्रेकोले जीत सुनिश्चित भएको बताइ ।
संघियताको सवालमा आफुहरुको फरक मत रहेकाले सैद्धान्तिक मतभेद जवरजस्ती हटाएर पार्टी एकता हुन नसक्ने भन्दै राजमो अध्यक्ष केसीले गणतन्त्र धर्मनिरपेक्षता सार्वभौमसक्ता लगायतका मुद्दामा आफुहरु नेकपा संगै रहेको दाबी गरे । पद र प्र्रतिष्ठाको लागि मात्र पार्टी एकता हुन नसक्ने उनको भनाई थियो । उनले अहिलेको एकतालाई सबै क्षेत्रमा ईमान्दारीपुर्वक लागु गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी ने.क.पा स्थायी कमिटी सदस्य एबं प्रतिनिधीसभाका सदस्य देबेन्द्र पौडेलले ईतिहासका सबै जिम्मेवारी पुरा गर्न आगामी निर्वाचनमा सबै ठाउंमा जीत हासिल गर्नुपर्ने बताए । वर्तमान सरकारले सुरुङ्ग मार्ग, सडक बिस्तार बिद्युत व्यवस्थापन एयरपोर्ट निर्माण तथा संचालन लगायतका महत्वपुर्ण राष्ट्रिय गौरवका आयोजनाकोे निर्माण कार्यको थालनी गरेको भन्दै उनले मुलुकलाई अग्रगतिमा लैजानका लागि कम्युनिष्टको बिकल्प नभएको बताए ।
उपनिर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेद्वार खिम विक्रम शाही नेकपा केन्द्रिय सदस्य एबं गण्डकी प्रदेश सचिव गोबिन्द नेपाली, नेकपा बागलुङ जिल्ला ईन्चार्ज बलावती शर्मा प्रदेश सांसद कृष्ण थापा नेकपा नेता मोहनलाल शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता र नेकपा नेता बिष्णु भुषालको संचालनमा सम्पन्न भएको थियो ।
28 Comments