थम्मन थापा, गल्काेट २०७६ मंसिर २ । हिजो आज गाउँ गाउँमा दिदीबहिनी आमाहरु एकिकृत रुपमा समुह गठन गरि समाजको समृद्विमा लागेका छन । आमा तथा महिला समुहको स्थापना गरि समाजमा हुने हरेक सामाजिक गतिविधीमा जोडिएका छन । महिला तथा आमा समुहले गाउँमा लाहुरे आउँदा, विदेशी आउँदा होस या अन्य अतिथीहरुको आगमनका क्रममा स्वागत सत्कार स्वरुप भजन गाउने प्रचलन छ । भजन गाएर संकलित रकम महिला दिदीबहिनीहरुले समाजिक कार्यमा खर्च गर्ने गरेका छन ।
यसै सिलसिलामा जिल्लाको गल्कोट नगरपालिका ७ मल्म खोलापारीमा अवस्थित मुलपानी सप्ताहघाट महिला समुहले मल्म सप्ताहघाटको प्रगति आधारभुत विद्यालयलाई नगद रु १ लाख र खडग कालिका मन्दिरलाई नगद रु ५० हजार गरि डेढ लाख आर्थिक सहयोग गरेको छ । वि.सं २०४७ सालमा स्थापना भएको विद्यालयले समयको आवश्यकता अनुरुप वि.सं २०६९ साल देखि अङग्रेजी माध्ययमबाट पठनपाठन सुरु गरेको थियो । अभिभावकको चाहना बमोजिम अङग्रेजी माध्ययमबाट कक्षा सञ्चालन भएपछि अहिले विद्यार्थीको आकर्षण समेत बढेको छ । २ वटा शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा ८ जना शिक्षक स्थानिय श्रोतमा रहेका छन । आर्थिक अभावमा रहेको विद्यालयलाई थोरै भएपनि राहत होस भन्ने उद्येश्यले शैक्षिक गुणस्तर अभिवृद्वि गर्नको निमित्त विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको मुलपानी सप्ताहघाट महिला समुहकी अध्यक्ष थुम कुमारी थापाले जानकारी दिइन ।
समुहले खडग कालिका मन्दिरमा सत्तल निर्माण गर्नको निमित्त नगद रु ५० हजार सहयोग गरेको छ । वि.सं २०६४ सालमा स्थापना भएको महिला समुहले वि.सं २०६६ सालमा सामाजिक संस्था घुम्टे युवा परिवारको प्राङगढमा पक्की मञ्च र स्वागत द्वार निर्माण गरेको थियो । समुहले स्थानिय स्तरमा विभिन्न सामाजिक कृयाकलाप तथा गतिविधीहरु गर्दै आईरहेको छ । महिला समुहले आर्थिक सहयोग गरेको भन्दै प्रगति आधारभुत विद्यालय र खडग कालिका भगवती गुठीले हार्दिक कृतज्ञता समेत प्रकट गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताए ।