Sorry, that menu does not exist.
 

धर्म माथिको हो की, कर्म माथिको आक्रमण ?

कोपीला कंडेल

हामी जो कोहीलाई देख्दासाथ उसको हाउभाउ आनिबानी हेरेर सायद यसको व्यँक्तित्व यतिसम्मको होला भनेर अनुमान लगाउने गर्छौ । हेर्दै बुझ्दै र भोग्दै जाँदा बल्ल थाहा हुन्छ कुन व्यक्ति कति सम्मको रहेछ भन्ने कुरा ।

भनिन्छ असल मान्छेको पनि एउटा बानी खराब हुन्छ रे उसले सबैलाई आफु जस्तै ठानेर गल्ती गर्छ रे । मैले यहांं कोट्याउन खोजेको प्रशंग सुनसरीको चतरा गाउं स्थित सिद्ध बाबा भनेर परिचित कृष्ण दास गिरीको हो । सायद म आफु एक धर्मिक परिवारमा हुर्केको छोरी भएर पनि होला, सायद सत्य र ज्ञानको खोजीमा परिवारनै त्यागेर त्याग तपस्या र ध्यान साधनामा लागेको व्याक्तिहरु सत्यनै हुन्छन् भन्ने लाग्ने गर्दछ । तर मेरो अनुमान सत्य होईन भन्ने कुरा मुलुकमा घटेका बिभिन्न घटनाहरुले पुष्टी गरेका छन् । आफुलाई लिटिल बुद्ध बताउने राम बहादुर बमजन, जीवनका कैयौँ वसन्त बन जंगल घाट र कुटीमा साधनाको माध्यमबाट ईश्वरीय शक्ति प्राप्त गरेको ठानने अघोरी बाबा तथा यी सुनसरीको चतराका सिद्ध बाबा पछिल्लो समय एकाएक बिबादमा तानिए । हुनत हाम्रो यो पञ्चतत्वले बनेको शरीर भेषभुषा बदल्दैमा मन कहां बदलिन्छ र ?

पछिल्लो समय चतरा धामका सिद्ध बाबाको रुपमा परिचित कृष्ण दास गिरी माथि लागेको बलत्कार आरोपले निकै चर्चा पाएको छ । उनको बारे बिभिन्न मिडियामा पक्ष बिपक्ष भएर धेरै खाले टीकाटिप्पणी भईरहेका छन् । जनता संग सिधा कुरामा रेकर्ड गरिएको लाईभ भिडियो पनि सुनियो । यो घटनामा पीडित भनिएकी महिलाले पठाएका म्यासेज र भिडियोनै अन्तिम सत्य हो जस्तो त लाग्दैन । किनकी हामीले अरुको नक्कल गरेर हुबहु स्वर निकालेको पनि त देखेका र सुनेका छौ । अर्को कुरा ती सिद्ध बाबाले जवाफ कतै नदिनु र उनले एकोहोरो प्रश्न चिन्ह राख्दै लेख्दै गरेका म्यासेजहरु पनि संकास्पदनै छन् । त्यती मात्र नभएर यदि कसै संग कुरा गर्दा आफ्नो मोबाईलमा रेकर्ड राखेर कसैले गर्दैन । त्यसैले त्यो मोबाईल रेकर्ड पनि कहि कतै फसाउने प्रयास पनि होकी जस्तो देखिन्छ ।

हुनत गेरु वस्त्र र तिलक धारण गर्दैमा उसकोे भित्री मोह तथा सांसारीक आशक्तीपन त्यागनै हुन्छ भन्न सकिदैन । तैपनि सर्वस्व त्यागेर सिद्धि प्राप्तीको लागि भन्दै आध्यात्मिक बाटो रोजेका तथा धेरै बुद्धिजिवीको मन जितिसकेको सिद्धबाबाले कसरी त्यस्तो लाचारपन देखाए हुनन् भन्ने लागेको छ । यदि उनिहरु बिच शारीरिक सम्बन्ध कायम भएकै रहेछ भनेपनि यो बलत्कार पक्कै होईन । उमेर पुगेकी दुई दुइ बच्चाकी आमालाई साधना सिकाउछु भन्दै गुरुले एक्लै बोलाएर के त्यति सम्म गिरे हुनन् र । बरु तिनीहरु बिच सहमतिको शारीरिक सम्बन्ध भने हुन सक्ने अनुमान गर्न सकिन्छ । घटना भएको करिब ५ हप्ता पछि मात्र पीडित भनिएकी महिलाले आवाज उठाउनुले पनि घटना जसरी बाहिर आयो त्यो हुबहु सत्य होईन भन्ने अनुमान गर्न सकिन्छ । हुनत उन्लाई अनुसन्धानको लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । सत्य तथ्य छुट्टाउने काम पनि अदालतकै हो । सिद्धबाबाका अनुयायीले भने यो घटना सुनियोजित तरिकाले हिन्दु धर्म माथिको प्रहार तथा गुरुको बद्नाम गर्ने नियतले बाहिर आएको बताएका छन् । अहिले राज्य धर्म निरपेक्ष घोषणा भएको छ । धर्म निरपेक्ष भनेको हिन्दु धर्म मान्नै नपाईने भन्ने पक्कै होईन ।

धर्म निरपेक्षता भित्र सबैखाले धर्महरु अटाउछन् । धर्म कुनै पनि आफैमा नराम्रो भन्ने होेईन । धर्मको नाममा हुने कुप्रचार तथा कसैको बद्नाम गर्ने र आफु स्थापित गर्ने नियतले गरिने केही धर्म गुरुहरुका गलत क्रियाकलापले मुलुकमा बिभिन्न खाले समस्या समेत पैदा गर्दछन् । धर्म संस्कार र संस्कृतिलाई शान्ति सद्भाव र बिकास संग जोडेर लैजान सकियो भने मुलुक सकरात्मक दिशा तर्फ अगाडी बढ्छ । धर्म र संस्कृतिको नाममा अमानविय क्रियकलाप गर्ने अधिकार कसै लाई हुनुहुदैन । धर्मको नाममा अर्थात कुनै धार्मिक गुरुको लोकपृयता सहन नसकेर सुनियोजित ढंङ्गबाट समाप्त पार्न खोेजीएको हो भने यो मुलुकको लागि अभिसाप हुन सक्छ ।

अत यी सिद्ध बाबा भनिने कृष्ण दास माथि धर्मका नाममा भएको आक्रमण हो की उनका गलत क्रियाकलापले गर्दा निम्त्याईएको आक्रमण हो राम्रो संग छुट्टाईनु पर्दछ । धर्मको नाममा गलत कर्म गरेका छन् भने उनी माथि कानुन बमोजिम कारबाही हुनुपर्दछ । तर महिलाको पक्षमा कानुन छ भन्दैमा कसैलाई सुनियोजित तरिकाले फसाउने प्रपञ्च रचियो भने यसको पनि गहिरो अध्ययन र छानबिन हुनुुपर्दछ । कानुन भनेको पीडितलाई न्याय दिलाउनका लागि हो । आर्थिक लेनदेन र कसैलाई दलालीकरण गर्नका लागि होईन । यो घटनाको पनि सोही अनुसार गहिरो अनुसन्धान होस ।
लेखिका ईबागलु डटकमकी संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !