कोपिला कँडेल, बागलुङ २०७६ पुस ३ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधवार प्रशोधित पानी (मिनरल वाटर)को नयाँ मुल्य कायम गरिएको सम्वन्धमा सरोकारवालाहरुबीच बैठक बसी नयाँ मुल्य अनुसार प्रशोधित खानेपानी बिक्री बितरण र प्रचारप्रसार गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीको अध्यक्षतामा बसेको प्रशोधित खानेपानी (मिनरल वाटर)को मुल्य निर्धारण एवं कार्यान्वयन गर्ने विषयमा सरोकारवालाहरुसंगको बैठकमा यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।
बैठकमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तगा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराको मुल्य कायम सम्वन्धि पत्रसाथ प्राप्त प्रशोधित खानेपानी (मिनरल वाटर)को नयाँ मुल्य निर्धारण सम्वन्धी विज्ञप्ती र नेपाल बोटल वाटर उद्योग संघ गण्डकी पोखराको पत्र जानकारी गराईएको थियो ।
सोहि बैठकले प्रशोधित खानेपानी (मिनरल वाटर)को नयाँ मुल्य निर्धारण सम्वन्धमा २०७६।८।१० गते प्रकाशित विज्ञप्ती अनुसार प्रशोधित खानेपानी एक बोतलको अधिकतम मुल्य रु १६। र जारको अधिकतम मुल्य रु ५०। कायम गर्ने र सोहि मुल्य अनुसार महालक्ष्मी मिनरल एण्ड बेभरेज प्रालि बागलुङबाट प्रशोधित कालिका नामको पानीको सन्चालक तथा डिलर, कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज ईन्डस्ट्रिज कुस्माबाट उत्पादित पानीको डिलरले बिक्री वितरण गर्ने व्यवस्था मिलाउने र सरोकारवाला निकायहरुले यसको प्रचार प्रसार तथा नियामक निकायले अनुगमन गर्ने निर्णय गरेको छ ।
बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दण्डपानि शर्मा प्रहरी नायब उपरीक्षक झबिन्द्र प्रसाद भट्टराई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बागलुङका उपअनुसन्धान निर्देशक नरेन्द्र राज गिरी खानेपानि तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ईश्वरी प्रसाद शर्मा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गोमा देबी शर्मा उद्योग बाणिज्य सघं बागलुङ्गका अध्यक्ष युवराज राजभण्डारी राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ्गका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख केदार नाथ पौैडेल महालक्ष्मी मिनरल एण्ड वेभरेज प्रालिका प्रोपाईटर प्रकाश राजभण्डारी डिलर साजन रोका डिलर गुमान सिहं कार्की रमेश महत कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज कुश्मा पर्वतका पिताम्वर पौडेल र बागलुङका प्रशासकिय अधिकृत धिरेन्द्रराज पन्त लगायतको उपस्थिती रहेको थियो ।
परिवर्तित मुल्य अनुसार प्रशोधित खानेपानी (मिनरल वाटर) बिक्री वितरण भए नभएको अनुगमनका साथसाथै सम्वन्धित उद्योगहरुबाट उत्पादन गरी विक्रीवितरणका लागी बजारमा ल्याईएका प्रशोधित खानेपानीको गुणवत्ता परीक्षण गरिनु आवश्यक रहेको तर्फ पनि सरोकारवालाहरुले ध्यान दिन जरुरी छ । बजारमा उपलव्ध मिनरल वाटर (प्रशोधित खानेपानी) पिउन लायक छ वा छैन, समय समयमा त्यसको गुणवत्ता परीक्षण गरिनु पर्ने उपभोक्ताहरुको माग रहेको छ । बजारमा उपलव्ध मिनरल वाटर कति प्रशोधित छ ? त्यस्मा कति खनिजतत्व छ ? कतै उपभोक्ताहरु मिनरल वाटरको नाममा अशुद्ध खानेपानी त पिईरहेका छैनन् ? नियामक निकायको ध्यानाकृष्ट हुने उपभोक्ताहरुले विश्वास व्यक्त गरेका छन् ।
घट्यो, बजारमा बिक्री गरिने बोत्तल र जारको पानीको मुल्य !