Sorry, that menu does not exist.
 

बुर्तिवाङमा सन्चालित नि:शुल्क अपांगता शिविरमा १०२ वर्षिय बृद्ध सहित १७१ जना लाभान्वित !

मिनु बिसी, बुर्तिवाङ २०७६ पुस ५ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आज निशुल्क शारीरिक अपांगता शिविर सुरु भएको छ ।

सो नि:शुल्क शिविर फेयर मेड फाउण्डेशनको सहयोग तथा बीवाईसीको साझेदारीमा सन्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाको समन्वयमा आज र भोलि ढोरपाटन नगरपालिका, निसीखोला तमानखोला र बडीगाड गाउपालिकाहरुलाई लक्षित गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र पर्सि पुस ७ गते गल्कोट हटिया स्वास्थ्य चौकीको नयाँ भवनमा गल्कोट नगरपालिका, बरेङ गाउपालिकालाई लक्षित गरी सन्चालन गरिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत घनश्याम सापकोटाले ईबागलुङलाई बताए ।

शिविरमा एकै घरपरिवारमा ५ जना अपांगता भएका सदस्यहरु सम्मले सेवा लिएका छन् । विभिन्न कारणले शारीरिक रुपमा अशक्त भएका नागरिकहरुका लागि कृत्रिम हात, खुट्टा तथा बैशाखी प्रदान गरिएको छ । शिवरमा स्वास्थ्य कार्यालय बागलुङ, स्थानीय तहले समेत सहयोग रहेको थियो ।

शनिबारबाट बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुरुभएको शिविरमा आइएनएफ पोखराबाट सर्जन सहितको चिकित्सक टोली र आरसिआरसिबाट प्राविधि टोली गरि १० जनाको टिम शिविरमा खटिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले समेत शिविरलाई सहयोग गरिरहेका छन् ।

शिविरबाट हुने सहयोगले अपांगता भएका नागरिकलाई सेवा नपुग्ने भएपछि रिफर गरि आवश्यक ठाउँबाट समेत उनीहरुलाई आवश्यक सेवा पुग्ने गरि कार्यक्रम आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।

भोलि सम्म बुर्तिवाङमा सन्चालन हुने निशुल्क शारीरिक अपांगता शिविरमा आज पहिलो दिन ढोरपाटन नगरपालिका ५ का एक महिनाको भिजन भण्डारी देखी तमानखोला गाउपालिका १०२ वर्षिय कुलवीर कामी सहित १७१ जना अपांगता भएका व्यक्तिहरुले सेवा लिएको स्वास्थ्य कार्यालयका तथ्यांक एवं सूचना अधिकारी सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !