कोपीला कंडेल बागलुङ २०७६ पुस १२ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । शुक्रबार देखि शुरु भएको बागलुङ महोत्सवमा ढकाललाई बागलुङ उद्योग वाणिज्य संघले प्रस्ताव गरेपछि उनले उम्मेद्वारी घोषणा गरेका हुन ्।
बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन् । उहांले महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरिसकेका छन् ।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।